गोंगबुमा गोली हानेका तामाङ वाईसिएल नेता
पछिल्लो एक महिना यता प्रहरीले अपराधीमाथी इन्कान्टर गर्ने श्रृंखला बढेको छ । इन्काउन्टरमा केही अपराधीक पृष्ठभुमीका ब्यक्तिहरु मारिएका छन् भने केहीलाई नियन्त्रणमा लिन गोली चलाइएको छ । तर पछिल्लो समय लगातार आलोचना खेप्दै आएको प्रहरीको इन्काउन्टरलाई केही नेता र आफन्तले भने प्रहरीको ‘काम देखाउने’ बहाना भएको टिप्पणी गरेका छन् ।
गोली प्रहार नगरी सजिलै पक्राउ गर्न सकिने ठाउँमा पनि प्रहरीले इन्काउन्टरका नाममा शक्तिको दुरुपयोग गरेको नेता र आफन्तको आरोप छ । प्रहरीले मंगलबार दिउँसो गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानिएका व्यक्ति हतियार कारोबारी वा अपराधी नभई वाईसीएल काभ्रेका नेता भएको खुलेको छ ।
प्रहरीले गोली हानेर पक्राउ गरिएका अभिलाश तामाङ वाईसीएल काभ्रेका इन्चार्ज भएको र उनी एक सामान्य कुखुरा पालन व्यवसायी भएको उनिनिकट काभ्रेका नेताहरुले सार्बजनिक रुपमा बताएका छन् ।
प्रहरीको गोली लागेका तामाङको बारेमा मंगलबार साँझ काभ्रेका केही बहालवाला सांसद देखि पूर्वमन्त्रीसम्मले चासो देखाएपछि मात्र उनी वाईसीएलको नेता भएको खुलेको हो ।
स्रोतका अनुसार घटनापछि काभ्रेका सांसद् बमध्वज तामाङ, पूर्वराज्यमन्त्री गंगाबहादुर तामाङ लगायतले चासो राख्दै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामा र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई फोन गरेका थिए ।
उनीहरुले कुनै अपराधमै संलग्न नभएको व्यक्तिलाई गोली हानेको भन्दै दुबै प्रहरी अधिकारीहरुसँग आक्रोस व्यक्त गरेको स्रोतको दाबी छ । घटनापछि त्रिवि शिक्षण अस्पतालमा गएर घाइते तामाङलाई भेटेका नेकपाका काभ्रे जिल्लाका एक जना नेताले भने–‘मान्छे एक्लै छ भन्ने प्रहरीले पहिल्यै सूचना पाएकै थियो । तर, ढोका खोल्ने वित्तिकै गोली हानिएको रहेछ ।’
यसबारे संगठनले आधिकारिक रुपमा बोल्ने ति नेताले बताएका छन् । ति नेताले अगाडी भनेका छन्–‘बनेपाको बुडोलमा कुखुरा पालन गरेर बसेको मान्छेमाथि प्रहरीले गोली चलाउनु हाम्रो लागि अनपेक्षित हो ।’ गोली हानिएका अभिलास तामाङ पूर्वलडाकु समेत हुन् ।
वाईसीएल तत्कालीन माओवादीको युवा संगठन हो । एमाले र माओवादी मिलेर नेकपा बनेपनि भ्रातृ संगठनको एकता नभएका कारण वाईसीएल अँझै अस्तित्वमा छ ।
गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र रहेका तामाङमाथि महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको थियो । होटलमा हतियार लिएर बसेको सूचना आएपछि बोगटीको नेतृत्वमा टोली पठाएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताएका छन् ।
तर, प्रहरीले अहिलेसम्म उनको आपराधिक पृष्ठभूमिबारे केही बताएको छैन । यद्यपि घटनास्थलबाट हतियार बरामद भएको दाबी प्रहरीले गरेको छ । एसएसपी लामाले भने, ‘नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको हो । उसले पनि त्यो हतियार पहिल्यैदेखि राखेको स्वीकारेको छ ।’
प्रहरीसँग तामाङको भिडियो बयान समेत रहेको बताएका छन् । तामाङबारे सोधिएको प्रश्नमा जवाफ दिँदै एसएसपी लामाले भनेका छन्–‘मान्छे सोझो होला तर, गरेन भन्ने हुन्छ र ?’ एसएसपी लामाले सुन लुट्ने उद्देश्यले हतियार ल्याइएको हुनसक्ने आशंका रहेको समेत बताएका छन् ।
प्रहरीको यो दाबीसँग नेकपा काभ्रेका भने सहमत छैनन् । पछिल्लो समय प्रहरीले काम देखाउन सामान्य अपराधीलाई पनि गोली हान्न थालेको भन्दै आलोचना हुन थालेको छ । अघिल्लो साता मात्रै प्रदेश २ र ५ मा गरी ३ जनामाथि प्रहरीले गोली हानेको थियो ।
सिरहा र बाँकेमा दुई जनालाई खुट्टामा हानेर पक्राउ गरिएको थियो भने रुपन्देहीमा प्रहरीको गोली लागेर मारिएका कुख्यात अपराधी भएको खुलेको छ । मंगलबार भने काम देखाउने होडवाजीमा गोली चलाइएको उनको आफन्तको आरोप छ । स्रोतका अनुसार तामाङ कुनै समय प्रहरीकै सुराकी समेत थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्