डडेल्धुरामा चट्याङ लागेर २ जनाको ज्यान गयो
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ गनेडाकी रोशनी देउवाको चट्याङ लागेर मृत्यु भएको छ । विद्यालयको कक्षा कोठामा पढ्दै गर्दा चट्याङ लागेर देउवाको मृत्यु गएको स्थानीय नरेन्द्र भट्टले जानकारी दिएका छन् । रोशनी स्थानीय भुवनेश्वरी मावि कक्षा ६ की छात्रा हुन् ।
कक्षा कोठामा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीया रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकी रोशनीको जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताएका छन् ।
उपरीक्षक केसीका अनुसार चट्याङ लागेर घाइते भएकी देउवालाई उपक्षेत्रीय अस्पताल र्पुयाइएको थियो । अस्पताल र्पुयाउने वित्तिकै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । यस्तै, आलिताल गाउँपालिकाकै–५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेको प्रहरीले बताएको छ । थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिएका छन् ।
घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन् । चारैजनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्