सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानको तोचिगीमा आगलागीका घाईतेलाई सहयोग

गत डिसेम्बर २३ तारिखका दिन जापानको तोचिगीमा रहेको हाम्रो रेष्टुरेन्ट एण्ड बारमा भएको आगलागीमा परी घाईते भएका तिन जनालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपाली आपतकालिन कोषले घाईते पाँच जनामध्ये तत्काल काममा फर्कन नसक्ने ३ जना घाईतेलाई सहयोग रकम उपलब्ध गराएको हो ।

आपतकालिन कोषका संयोजक महेश लुईँटेलको संयोजकत्वको टोलीले घाईतेहरुको निवासमै गएर सहयोग रकम उपलब्ध गराएको थियो । कोषका संयोजक महेश लुईँटेलका अनुसार आगोले पोलेर घाईते भएका तिन जनालाई प्रति व्यक्ति ३७ हजारका दरले आर्थिक सहयोग गरिएको हो ।

घाईते दिपेन गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्दै कोषका संयोजक महेश लुईँटेल ।

आगोलागीमा परी घाईते भएका पाँच जनामध्ये तत्काल काममा फर्कन नसक्ने अवस्थामा भएका रेष्टुरेन्टका कुक सान्त बहादुर गुरुङ, उज्जवल थापा र दिपेन गुरुङलाई आर्थिक सहयोग उपलब्ध गराईएको संयोजक लुईँटेलले बताएका छन् । उनीहरुलाई तत्कालको दैनिक जिवनयापनमा सहयोग पुगोस् भनेर सहयोग गरिएको संयोजकको भनाई छ ।

घाईते शान्त बहादुर गुरुङलाई सहयोग रकम हस्तान्तरण गर्दै कोषका संयोजक महेश लुईँटेल लगायतको टोली ।

ओम गुरुङले सञ्चालन गरेको रेष्टुरेन्टमा गत डिसेम्बर २३ तारिखका दिन राति करिब ११÷१२ बजेको बिचमा एक्कासी आगलागी रेष्टुरेन्ट जलेर पुर्ण रुपमा खरानी भएको थियो । आगलागीमा परी पाँच जना घाईते भएका थिए । घाईतेमध्ये २ जना काममा जानसक्ने भईसकेका छन् भने ३ जना उपचारकै क्रममा छन् ।

घाईते बाँकी ३ जनालाई पहिलेकै अवस्थामा फर्कन अँझै २ देखी ३ महिनासम्म लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचार गराईरहेका ३ जनामध्ये उज्जवल थापाको उपचार खर्च बिमा कम्पनीले ब्यहोर्ने बताएको छ भने शान्त बहादुर गुरुङ र दिपेन गुरुङको नबेहोर्ने भएको छ ।

घाईते उज्जवल थापालाई सहयोग रकम हस्तान्तरण गर्दै कोषका संयोजक महेश लुईँटेल लगायतको टोली ।

रेष्टुरेन्ट सञ्चालक ओम गुरुङका अनुसार बिमा कम्पनी (बाइसो होकेन)ले आगलागी जापानको नियमअनुसार काम गर्ने समय राती ११ बजे भन्दा पछी भएकाले रेष्टुरेन्टका कर्मचारीको हकमा उपचार खर्च बेहोर्न नसक्ने बताएको छ ।

बिमा कम्पनीले घाईतेहरुको उपचार खर्च नबेहोर्ने देखिएपछी उनीहरुको उपचारमा समस्या आउने देखिएकाले नेपाली आपतकालिन कोषले सहयोग संकलन कार्यलाई अगाडी बढाउने भएको छ ।

आगोलागीबाट जलेर पुर्ण रुपमा खरानी भएको हाम्रो रेष्टुरेन्ट एण्ड बारको बाहिरी भागको दृष्य ।

‘नेपाली आपतकालिन कोष’लाई एसएमएस कर्पोरेसनका सञ्चालक सदस्य महेश लुईँटेलले संयोजकत्व गरेका छन् । तोचिगी आसपासमा रहेका नेपालीहरुलाई आपतकालिन अवस्थामा सहयोग गर्ने उद्देष्यले तोचिगीकेन क्षेत्रका आम नेपालीले स्वत; स्फुर्त रुपमा कोषको गठन गरेका हुन् ।

यो पनि पढ्नुहोस् ।

जापानको नेपाली रेष्टुरेन्ट आगोलागीमा ५ जना घाईते

फेसबुकबाट कमेन्ट गर्नुहोस्