निर्मलाका बलत्कारी र हत्यारा सरकारकै संरक्षणमा
विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणका अपराधी लुकाउन सरकार नै क्रियाशिल भएको आरोप लगाएको छ । बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्तो आरोप लगाएको हो ।
बलात्कार पछी हत्या भएको ६ महिना बित्दासम्म घटनाको सत्य सार्वजनिक नभएकोप्रति आपत्ति जनाउँदै कांग्रेसले यस्तो आरोप लगाएको हो । बैठकपछि सार्वजनिक कांग्रेसको विज्ञप्तिमा भनिएको छ–‘कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको माघ १० गते ६ महिना भएको छ ।
मानव सभ्यताकै कलंकका रुपमा देखिएको यो जघन्य, क्रुर एवं अमानवीय अपराधीक घटना जनताको सर्वाधिक चिन्ता र चासोको विषय बनेको छ । घटनाबारे सत्य तथ्य अनुसन्धान गरी अपराधीलाई कानुनी कारबाही गर्नुको साटो सरकार र मातहतका निकायका गतिविधि गैर जिम्मेवार, संवेदनहिन र शंकास्पद देखिएका छन् ।’
![](https://everestwall.com/wp-content/uploads/2018/10/nirmala-panta-kanchanpur-kanda-1024x775.jpg)
घटनास्थलमा विद्यमान प्रमाण नष्ट गर्ने, घटनाको अन्वेषण अनुसन्धान सही तरिकाले नगर्ने, न्याय माग्ने क्रममा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमा बल प्रयोग गर्ने, छानबिनको नाममा उपलब्धिबिहिन आयोग र अनुसन्धान समिति गठन गर्ने, निर्दोष व्यक्तिलाई निर्मम रुपले यातना दिई मानसिक समस्या उत्पन्न हुने गरी नक्कली अपराधी बनाउने प्रयत्न गर्ने, सरकारका जिम्मेवार मन्त्रीले अपराधी पत्ता लागिसक्यो भनी पटक–पटक जनमानसमा भ्रम फैलाउने जस्ता काम गरेको आरोपसमेत कांग्रेसको छ ।
कांग्रेसले भनेको छ–‘यसले सरकार अपराधी पत्ता लगाउन चाहन्छ वा अपराधी लुकाउन क्रियाशील छ भन्ने गम्भीर शंका उत्पन्न भएको छ ।’ कांग्रेसले यो घटनापछिका ६ महिनामा सरकारका गतिविधि लाचार, गैरजिम्मेवार, संवेदनहिन र लज्जाजनक देखिएको बताएको छ ।
देशव्यापी रुपमा बलात्कार र हिंसाका सयौं घटना भएको भन्दै कांग्रेसले सरकारको असक्षमता र नालायकीपन यहीँबाट प्रमाणित भएको आरोप लगाएको छ । निर्मला प्रकरणमा सरकारबाट भएका लज्जास्पद गतिविधिको घोर भत्र्सना गर्दै कांग्रेस बैठकले घटनाको अबिलम्ब सत्य तथ्य छानबिन गरी अपराधी पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्