सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जन्तीबसमा ११ हजार भोल्टेजको करेन्ट, ७ को मृत्यु

बेहुली लिएर घर फर्कँदै गर्दा धनुषाको सबैला नगरपालिका वडानम्बर ४ कोठियाबल्टिया भन्ने ठाउँमा जन्ती सवार बसमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा सात जनाको मृत्यु भएको छ ।

सबैलाबाट बेहुली लिएर सिन्धुलीको दुधौली फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा शुक्रबार साँझ ८ः१५ बजेतिर करेन्ट लागेको थियो ।

बेहुला रामवरण कुँमर र बेहुली सरस्वती कुमारी दनुवार भने अर्को गाडिमा रहेकाले सकुशल छन् । तर जन्ती सवार बसमा भने छतमा राखिएको टिनको बाकसमा विद्युतीय तार छोइएर आगलागी भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा अस्पताल ल्याउँदाल्याउँदै मृत्यु भएको छ ।

घटनामा सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवर लगायत ७ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये रामबाबु अधिकारीको मात्र सनाखत भएको छ । घटनाबारे जानकारी पाएलगत्तै सेना, प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयबासी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई सशस्त्र, प्रहरी, एम्बुलेन्सकर्मीहरुले जनकपुर अञ्चल अस्पताल लगेका छन् ।

घाइतेहरुको संख्या एकिन भएको छैन तर १९ जना भन्दा बढी घाईते भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी कँडेलले जनकपुर अन्चल अस्पतालको आकस्मिक कक्षमा घाइतेहरुको उपचारका लागि सबै प्रबन्ध मिलाइएको जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्