स्विजरल्याण्ड बैंक खाता हेर्न गएको होईनः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिन लामो स्वीटजरल्याण्ड भ्रमण सकेर शनिबार बिहान स्वदेश फर्किएका छन् । प्रधानमन्त्री विदेशमै भएका बेला नेपालमा तीनवटा राजनीतिक परिघटना भए ।
एक–विपक्षी दललाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित भयो । दुई–पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा संयुक्त वक्तव्य जारी गरे । र, तीन–नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा अमेरिकी भूमिकाको निन्दा गर्दै वक्तव्य जारी गरे ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली युरोपबाट फर्कँदै गर्दा शनिबार विमानस्थलमा भेला भएका सञ्चारकर्मीहरुको जिज्ञासा यिनै राजनीतिक विषयमा केन्द्रित हुनु स्वाभाविकै थियो ।
विमानस्थलमा पत्रकारले प्रधानमन्त्री ओलीलाई डा. गोविन्द केसीको सन्दर्भमा दोहोर्याएरै प्रश्न सोधे । तर, प्रधानमन्त्रीले चाहिँ यो त्यति ठूलो र उधुम मच्चाइरहनुपर्ने विषय नभएको जवाफ फर्काए ।

स्विस बैंकमा नेपालीको खाता रहेकोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्विट्जरल्यान्ड बैंकका खाता हेर्न नगएको बताएका छन् । भ्रमण सकेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
स्विस बैंकमा ५५ नेपालीले गैरकानुनी ढंगले पैसा राखेको खुलासा भएको छ यसबारे केही कुरा भयो ? भन्ने एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमनत्री ओलीले यस्तो बताएका हुन् ।
‘म स्विट्जरल्यान्ड बैंकका खाता हेर्न गएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म स्विट्जरल्यान्ड गएको डाभोसमा अन्र्तराष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन हो ।’
यो विषयमा प्रधानमन्त्री ओलीले हल्लाहरु कसरी आए भन्ने विषयमा समयले देखाउने उल्लेख गरेका छन् । ‘हल्ला कति सही र कति गलत छन् त्यलाई समयक्रमले देखाउँछ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले संचार माध्यममा आएका कुराहरुको जानकारी लिएको छ ।’
शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट पारित भएपछि डा. गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । यो विषयमा राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले तीन करोड जनतामा केही ठाउँका केही मानिसमा असन्तुष्टि हुनु सामान्य भएको बताएका छन् ।
‘सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ । अरुको पनि प्रक्रिया हुन्छ । तपाईंहरुले जस्तो धेरै चिन्ता गर्नुपर्ने अवस्था अहिले देशमा छैन’, प्रधानमन्त्री ओलीले डा. केसीतर्फ लक्षित गर्दै भने, ‘देशमा तीन करोड मान्छे छन् । केही मानिसमा असन्तुष्टि अलिअलि हुन सक्छन्, कसैलाई चित्त नबुझेको हुन सक्छ । यस्तै कुरालाई हामीले उधुम अब के के न असन्तुष्ट भयो भन्ने तर्फ लाग्नु हुँदैन ।’
विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किएका हुन् । मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको थियो ।
स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भए । उक्त अवसरमा उनले विश्व समुदायलाई नेपालमा लगानीका लागि आग्रह गरेका थिए ।
नेपालबाट प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका दुई सल्लाहकार, योजना आयोगका उपाध्यक्ष र सरकारी अधिकारीसहित २४ जना सहभागी थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्