सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सलको पासो लगाएको युवा–युवतीको शव एउटै कोठामा

विराटनगर महानगरपालिका–१४ डिग्री क्याम्पस नजिकै एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ । अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ ।

यादवको घरमा आठ/नौ महिना अघि कोठा भाडामा लिएर बसेका उनीहरु श्रीमान–श्रीमती हुन् कि हैनन् भन्ने नखुलेको प्रहरीको भनाइ छ । शव भारत दरभंगा घर भएका अन्दाजी ३५ वर्षीय रन्जन सिंह र अन्दाजी २५ वर्षीय पुजाकुमारीको भएको प्रहरीले बताएको छ ।

युवकको शव रातो रंगको गलफन (मखलर) को पासो लगाएर झुन्डिएको अवस्थामा र युवतीको शव घाँटीमा निलो रंगको सलले बाँधेको र भूइँमा लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

फाईल फोटो

स्थानीय बासिन्दाका अनुसार उनीहरु श्रीमान–श्रीमती भन्दै यादवका घरमा भाडामा बस्दै आएका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले उनीहरु श्रीमान श्रीमती हुन् भन्ने प्रमाण फेला नपरेको बताए ।

युवकको शव टिनले छाएको घरको काठको बलोमा झुन्डिएको अवस्थामा भेटिएको हो भने युवतीको शव घाँटीमा सल बाँधिएको तर भूइँमै लडिरहेको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए ।

दुबै जनाले सहमतिमै झुन्डिएर आत्महत्या गरेको तर युवतीले झुन्डिन प्रयोग गरेको सल भने चुँडिएर शव भूइँमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । भाडामा बस्दै आएका युवक सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएको र युवती भने घरमै बस्ने गरेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् ।

घटनास्थलबाट प्रहरीले दुईवटा मोबाइल र केही कागजपत्र मात्रै फेला पारेको छ । सबै झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा कोठामा शव भेटिएको जानकारी प्रहरीले दिएको छ ।

‘झ्याल र ढोका भित्रबाटै लगाएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी श्रेष्ठले भने, ‘भारतीय नागरिक भएका कारण आफन्त र परिवारका सदस्यसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’ दुबै जनाको शवलाई पोस्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्