प्रकाण्डका छोरा नरेन्द्र पेस्तोलको गोलीसहित पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन् । कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन् ।
नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको स्रोतको दाबी छ । नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन् ।
नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2018/12/gun-fire-pestol-1024x688.jpg)
उनले भनेका छन्–‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन् । उनको अन्य पृष्ठभुमि भने खुल्न सकेको छैन ।’ डीएसपी श्रेष्ठले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताएका छन् ।
उनले भने–‘गोलीसहित पक्राउ परेका युवाका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै भन्न सकिने अवस्था छ । अनुसन्धानका क्रममा रहेका कारण धेरै खुलाउन मिल्दैन ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्