सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अनुमतिबिना जन्माएको भन्दै आमाबुवा बिरुद्ध मुद्दा

भारतका एकजना २७ वर्षिया युवाले उनको स्वीकृतिबिना उनलाई जन्म दिएकोमा आफ्ना अभिभावहरूलाई मुद्दा हाल्ने योजना बनाएको बताएका छन् । मुम्बईका व्यापारी राफेल सामुयलले ‘आजीवन पीडाको सामना गर्नपर्ने हुनाले विश्वमा बालबालिकालाई ल्याउनु’ गलत भएको बीबीसीलाई बताएका छन् ।

राफेल सामुयललाई जन्मनुअघि बच्चाले स्वीकृति दिन मिल्दैन भन्ने थाहा छ तैपनि उनी ‘जन्मनु आफ्नो निर्णय नभएको’ बताउँछन् । आफ्नो जन्मको निम्ति आफूले नभनेको बताउँदै उनी बाँकी जीवन जीउनका लागि भुक्तानी गरिनु पर्ने तर्क गर्छन् ।

यस्तो मागले कुनै पनि परिवारको बीचमा तनाव उत्पन्न गराउन सक्छ । सामुयलले आफ्ना वकिल समेत रहेका आमाबुवासँग एकदम राम्रो सम्बन्ध रहेको र उनीहरूले त्यसलाई ठट्टाको रूपमा लिने गरेको बताएका छन् ।

एउटा वक्तव्यमा उनकी आमा कविता कर्नाड सामुयलले छोराको पछिल्लो भनाइबारे प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्–‘आफ्ना आमाबुवा दुवै वकिलहरू भएको थाहा हुँदाहुँदै आफूहरूलाई अदालत लैजाने मेरो छोराको साहसको म प्रशंसा गर्छु ।’

यदि राफेल उनलाई जन्म दिँदा कसरी उनको स्वीकृति लिन सकिन्थ्यो भन्नेबारे व्यवहारिक व्याख्याका साथ आएमा उनले आफ्नो गल्ती स्वीकार गर्ने पनि उल्लेख गरेकी छन् ।

सामुयलको विश्वास एउटा जन्मविरोधी सिद्धान्तमा आधारित छ, जसले जीवन पूर्ण रूपमा तनावपूर्ण रहेकोले मानिसहरूले तत्काल सन्तान जन्माउने काम रोक्नुपर्ने विश्वास गर्छ ।

उनी भन्छन्–‘मानवताको कुनै मूल्य छैन । थुप्रै मानिसहरू पीडामा छन् । यदि मानवता लोप भएमा पृथ्वी र जनावहरू खुशी हुनेछन् । उनीहरू निश्चित रूपमा राम्रो हुनेछन् । र, त्यसपछि कुनै मानव पनि पीडामा हुनेछैनन् । मानव अस्तित्व पूर्णरूपमा बेकार छ ।’

उनले एक वर्षअघि निहिलानन्द नामक फेसबुक पेज खोलेका थिए । उक्त पेजमा राखिएको उनको तस्बिरहरूमा लामो नक्कली दाह्री, आँखामा मुखुण्डो लगाएको र जन्म विरोधी सन्देशहरू छन् । सामुयलले आफूमा पाँच वर्षको हुँदा पहिलो पटक जन्म विरोधी सोच आएको सम्झन्छन् ।

उनी भन्छन्–‘म एउटा सामान्य बालक थिए । एक दिन म वाक्क भए र म विद्यालय गइन । तर मेरो आमाबुबाले मलाई विद्यालय जान भने । त्यसैले मैले उनीहरूलाई सोधें–‘तिमीहरूले मलाई किन जन्म दियौ । मेरो बुवासँग त्यसको उत्तर थिएन । यदि उनीसँग त्यसको उत्तर भइदिएको भए सायद म यो विचारबारे सोच्दिन थिएँ ।’

सामुयलले मानव जातिविना संसार अझ राम्रो हुने विश्वासका आधारमा मात्र आफ्ना आमाबुवालाई अदालतमा लाने निर्णय गरेको बताएका छन् । छ महिनाअघि एक दिन बिहानको नास्ता खाने समयमा उनले आमालाई मुद्दा हाल्ने योजना बनाएको बताएका थिए ।

सामुयल अहिले उनको मामिला हेर्ने एउटा वकिलको खोजीमा रहेका छन् । तर उनले त्यो मुद्दा जित्ने कम सम्भावना छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्