सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

कश्मिरमा फेरी भिडन्त, मेजरसहित ७ सैनिकको मृत्यु

भारत अधिनस्थ कश्मीरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार मेजरसहित कम्तीमा सातजना भारतीय सैनिकको मृत्यु भएको छ । कश्मीरको पुलवामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४४ जना अर्धसैनिकको मृत्यु भएको थियो ।

गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेका हुन् । भिडन्तका क्रममा एकजना लेफ्टिनेन्ट कर्णेल र ब्रिगेडियरसहित पाँच सेना र एक सर्वसाधारण घाइते भएका छन् ।

भारत प्रशासित कश्मीरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा गोली हानाहान भएको बताइएको छ । यो भिडन्तका क्रममा विद्रोहीतर्फ कम्तीमा पनि तीनजना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुलवामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ । भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण घटना हो ।

छुट्टी मनाएर काममा फर्कँदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानमार्फत् आत्मघाती आक्रमण गराईएको थियो ।

आक्रमणको जैस ए मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ ।

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री मोदी, वित्तमन्त्री अरुण जेट्ली र भारतका अन्य उच्चस्तरीय नेताहरुले यस आक्रमणलाई घृणित कार्यको संज्ञा दिएका छन् ।

भारतीय सञ्चारमाध्यम र सरकारले कश्मीर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य भएको र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद भएको पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो । रासस/एएफपी

फेसबुकबाट कमेन्ट गर्नुहोस्