पाकिस्तानमा भारतले खसाल्यो हजार किलोको बम
भारतीय वायूसेनाको विमानले एकाबिहानै भारत र पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानमा एक हजार किलो तौल भएको बम खसालेको छ । विमानले एलओसी पार गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । वायुसेना सुत्रले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफुरले ट्वीटमा भनेका छन–‘भारतीय विमानले मुजफ्फराबाद सेक्टरमा घुसपैठ र्गयो । जवाफमा पाकिस्तानी सेनाले तुरुन्त कारवाही गरेपछि विमान भाग्यो । भाग्ने क्रममा उसले हड्बडाएर केही बमहरु खसाल्यो, जुन बालाकोट नजिक खसे । यसमा कुनै मानवीय वा भौतिक क्षति भएन ।’
भारतीय सञ्चारमाध्यम एसियन न्युज इन्टरनेशनलका अनुसार पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको हुन् । अधिकारीहरूले भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरेका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/02/bomb-at-pakistan-by-india-1024x618.jpg)
बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका छन् । भारतीय विदेश मन्त्रालयले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले भने ट्वीटरमा लेखेका छन्–‘म भारतीय एयरफोर्सका पाइलटहरू (कारबाहीमा संलग्न) लाई सलाम गर्छु ।’
गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४६ भारतीय सुरक्षाकर्मी मारिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा संलग्नले त्यसको मूल्य चुकाउनु पर्ने बताएका थिए । जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरे केही नसोची त्यसको जवाफ फर्काउने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्