कम्युनिष्टका नाममा आतंक नमच्चाउः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् ।
झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी पार्कमा मंगलबार आयोजित ४६ औँ सुखानी सहिद स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अब जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने र विस्फोट गराउने कम्युनिष्ट पार्टी नेपालमा नरहेकाले आफूहरु कम्यूनिष्ट भए यस्तो काम बन्द गर्न निर्देशन दिएका हुन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/03/kp-oli-sukhani-1024x642.jpg)
उनले अहिले नेपालमा सबै कम्युनिष्ट पार्टी एक ढिक्का भइसकेको बताउँदै कोही सच्चा कम्युनिष्ट छुटेको भए ढोका खुल्ला रहेको बताएका छन् । सहिदहरुको बलिदान र मूल्याङ्कन गर्न कम्युनिष्ट पार्टी नीति बनाएर अघि बढिसकेको बताउँदै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अब नेपालमा दमन र लुटपाटले राजनितिक परिवर्तन नहुने दाबी गरेका छन् ।
वर्तमान सरकार सहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले काम गरेन भन्नुको अर्थ नरहेको जिकिर गरेका छन् । केही शक्ति र प्रतिक्रियावादी समूहले भर्खरै एकता भएको पार्टी फुटाउन लागि परेकोले नेकपामा कुनै असन्तुष्टि नरहेको उनले प्रस्टाएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्