सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

टिकापुर काण्डका नाइके रेशमलाललाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६ महिना र तीन जनालाई सफाई हुने फैसला गरेको हो ।

अदालतको फैसलामा सांसद चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी, गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने उल्लेख गरिएको छ ।

उनीहरूलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको कैलाली जिल्ला अदालतले जनाएको छ । ती मध्ये श्रवण चौधरी भने नाबालक भएकाले १० वर्षमात्रै जेल सजाय हुने फैसलामा उल्लेख छ ।

तहाँवर अलि, विसराम चौधरी र रामनरेश चौधरीले भने सफाई पाएका छन् । त्यस्तै कैलाली अदालतले दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारू, विधान चौधरी, पुल्कीराम चौधरी, रामप्रसाद चौधरी, लक्ष्मण थारू, लाहुराम थारू, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी र किसनलाल चौधरीलाई ३ वर्ष कैद गरेको छ ।

यी मध्ये पुल्कीराम चौधरी बाहेक ११ जना पक्राउपछी जेल बसेको ३ वर्ष पुगिसकेकाले आजै मुक्त भएका छन् । पुल्कीराम जेल परेको भने फागुन ३० गते ३ वर्ष पुग्ने छ । अभियुक्त मध्ये करण चौधरीलाई बालबालिका ऐन अनुसार ६ महिना जेल हुने फैसला अदालतले गरेको छ । उनी पनि आजै थुनामुक्त भएका छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो । सोही मुद्दामा चौधरी सहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो । भने ३१ जना फरार छन् । फरार रहेका ३१ जनाको मुद्दा अहिलेलाई मुल्तवी (पक्राउ परेपछि फाइल खोल्नेगरि स्थगीत) मा राखिएको छ ।

जन्मकैदको फैसला सुनाइएका सांसद चौधरीले पुर्पक्षका लागि जेलमै रहँदा उनले २०७४ को प्रतिनिधि सभा चुनावमा वारेशमार्फत उम्मेदवारी दिएका थिए । उनी कैलाली १ बाट भारीमत ल्याएर सांसद निर्वाचित भएका थिए । उनले २ महिना अघि संसदको शपथ लिएका थिए । जन्मकैदको फैसला भएपछी उनको सांसद पद खारेज भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्