सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बोक्सी हुने भए मलाई खाएर देखाउः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा व्याप्त अन्धविश्वास हटाउनु पर्नेमा जोड दिएका छन् । अहिले पनि बोक्सीको आरोपमा गरिब तथा कमजोर महिलाहरुमाथि अत्याचार हुने गरेको भन्दै कुप्रथा अन्त्यका लागि जनचेतना फैलाउन आग्रह गरेका छन् ।

गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘यदि कोही साच्चीकै बोक्सी छन् भने मलाई खाएर देखाऊ ।’ उनले अगाडी भनेका छन्–‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो ।’

प्रधानमन्त्री ओलीले गरीबी हटाउन तथा विकास निर्माण अगाडि बढाउन सरकारले काम गरिरहेको बताएका छन् । तराई मधेसको विकासका लागि सरकारले निजगढ–काडमाडौं द्रुतमार्ग, रेलवे, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका परियोजना अगाडि बढाइएको प्रधानमन्त्रीले बताएका छन् ।

भारतीय बाँधका कारण हुने डुबान समस्या हटाउन भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीअनुसार सर्वेको काम अगाडि बढेको पनि प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले अब छुद्र राजनिती तथा आधारहीन र नचाहिने नाराको काम नभएको बताएका छन् । छुट्टै मधेसको नारा लगाएका सिके राउत संविधानले दिएका अधिकारभित्र रहेर मूलधारको राजनितिमा आएको भन्दै उनले उनले खुशी व्यक्त गरेका छन् ।

सरकार सिङ्गो देश विकासमा लागेको भन्दै प्रधानमन्त्री ओलीले भने–‘एउटा प्रदेशमा एकपटक जनतालाई झुक्याएर अल्मलाएर अलिकति भोट पाइयो भनेर धेरै फूतीफार्ती नगर्न आग्रह गर्न चाहन्छु ।’ राजपालाई देश विकास र समृद्धिको यात्रामा सकारात्मक सोच राख्न समेत आग्रह गरेका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले केही दिनभित्रै गाउँस्तरसम्म पार्टी एकता गर्ने बताएका छन् । समृद्धिका लागि सरकारले ठोस काम गरिरहेको उनको दाबी थियो ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले पनि सम्बोधन गरेका थिए । नेता नेपालले देशको हितमा काम गर्ने समय आएको बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्