सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु

१४९ जना यात्रुसहित चालक दलका ८ जना सदस्यको ज्यान जानेगरी भएको इथियोपियन विमान दुर्घटनामा एक जना नेपाली युवतीले पनि ज्यान गुमाएको खुल्न आएको छ । आईतबार इथियोपियामा भएको इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो ।

इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत नेपाली नागरिक एकता अधिकारी परेको राति अबेर परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पराराष्ट्रका एक अधिकारीले बताएका छन् ।

इथियोपिएन विमान दुर्घटनामा ज्यान गुमाउने गोरखाकी एकता अधिकारी ।

डब्लुएफपी इथियोपियाका कन्ट्री डाइरेक्टर स्टेभेन वेर ओमामोले इजिप्टका राजदुत अर्याललाई आफ्ना कर्मचारी एकता अधिकारी दुर्घटनामा परेको र त्यसबारे उनका परिवारका सदस्यलाई पनि जानकारी गराइसकेको बताएको ती परराष्ट्र अधिकारीले उल्लेख गरेका छन् ।

विमान दुर्घटनाबारे ट्विट गर्दै इथियोपियन एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गरेको छ । एयरलाइन्सले त्यसमा एक नेपाली नागरिक पनि परेको जनाएको छ । केन्याको नैरोबीका लागि उडेको उक्त जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा परेको हो ।

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो । केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले पनि दुर्घटनाग्रस्त विमानमा ‘एकजना नेपाली नागरिक पनि रहेको’ लेखेको छ ।

विमान दुर्घटनास्थलमा फेला परेको विमानको टुक्रा ।

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन्स’ ले जनाएको छ । विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको जनाइको छ ।

पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् ।

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना रहेको विमान कम्पनीले जानकारी गराएको छ ।

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को, पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्