विप्लव माओवादीको सैन्य शक्ति खोज्दै प्रहरी
उच्च तहका नेताहरुलाई मार्न मान्छे खटाएको सुचना पाएको भन्दै विप्लव माओवादीमाथी प्रतिबन्ध लगाई धरपकडमा उत्रिएको सरकारले पछिल्लो समय आफ्नो ध्यान विप्लव माओवादीको सैन्य सुचना संकलनमा केन्द्रित गरेको छ ।
हराएका द्वन्दकालिन हतियार लुकाएको र शान्ति प्रक्रियापछीको बिचको समयमा हतियार तथा सैन्य शक्ति निर्माण गरेको सुचनाका आधारमा विप्लव माओवादीको सैन्य सुचना संकलन गर्न सरकारले शक्ति परिचालन गरेको बताइएको छ ।
पछिल्लो समय काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनाको समूहमा पूर्वसांसद् उमा भुजेलका श्रीमान् पनि रहेको खुलेको छ । भुजेलका पति वसन्तकुमार उर्फ विजय श्रेष्ठ पनि पक्राउ पर्ने व्यक्तिहरुको सूचीमा रहेको भेटिएको हो । भुजेल हाल विप्लव समूहमा पोलिटब्युरो सदस्य छिन् ।
![](https://everestwall.com/wp-content/uploads/2017/06/biplop-netra-bikram-chand.jpg)
श्रेष्ठले भने आफूलाई पार्टीको पूर्वी ताम्सालिङको इञ्चार्ज भएको बताउने गरेका छन् । सुरक्षा संयन्त्रलाई प्राप्त सूचनाअनुसार उनी पहिले समूहको सैन्य फाँटमा थिए । त्यसैले उनीबाट विप्लव समूहको सैन्य गतिविधि, क्षमता र तयारीबारे सूचना लिने कोशिशमा प्रहरी छ । तर, उनी त्यो विषयमा खुल्दैनन् ।
उनले आफू सैन्य विभागमा नभएको दाबी गर्दै राजनीतिक फाँटमा कार्यरत् रहेको बताउने गरेका छन् । मध्यकमाण्डका इञ्चार्ज वलीले भने सोधिएको अधिकांश प्रश्नमा इन्कारी जवाफ दिने गरेका छन् । राजनीती मुछिएको विषय, त्यसमा पनि उच्च तहको नेता भएकाले पनि प्रहरीले उनीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकेको छैन ।
‘भदौ १ गतेदेखि मुलुकी अपराध संहिता लागू भएपछि प्रहरी झनै बाँधिएको छ’, अनुसन्धान अधिकारी भन्छन–‘सुदर्शनलाई सोधिएको जवाफमा उनले ठाडै जवाफ फर्काउँछन्, ‘सांगठनिक कुरा मैले किन भन्ने ?’
वली, श्रेष्ठ लगायतविरुद्ध प्रहरीले विष्फोटक पदार्थ, हतियार तथा खरखजना, राज्यविरुद्धको कसुर लगायतको मुद्दामा ८ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्ने खानेपानी मन्त्री विना मगरका पूर्वपति शंकर अधिकारी पनि छन् । हाल उनी विप्लव समूहको रौतहट इन्चार्ज छन् । पक्राउ पर्नेहरुमा नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र बा १७ च ४८९३ नम्बरको स्कर्पिओ चालक धर्मराज राजबाहक छन् ।
विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उनीहरुविरुद्धको अपरेशनलाई नेपाल प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले चलाइरहेको छ । पछिल्लो पटक शनिबार बिहान पक्राउ परेका मध्यकमाण्ड इञ्चार्ज सुदर्शनसहित अन्यमाथि केरकार पनि यिनै दुई युनिटले गरिरहेका छन् ।
अनुसन्धान अधिकारीहरुकाअनुसार खानीखोला–७, मिल्चेमा वली सवार स्कर्पियो गाडीलाई एम्बुस थापेर पक्राउ गरिएको थियो । ‘हामीले ५ चैतमा चलाएको अपरेशन काफल डाँडामा उनी भाग्न सफल भए पनि औषधि र चस्मा बरामद भएको थियो’, एक अनुसन्धान अधिकारीले सुनाए, ‘पछि औषधि र चश्मा वीरबहादुर लामाकै घरमा छाडेर आएका थियौं । उनी पनि भागेर टाढा पुगेका रहेनछन् ।’
रोचक त के छ भने प्रहरीले सर्च अपरेशन चलाएको ठाउँमा छाडेको चश्मा शनिबार वलीलाई पक्राउ गर्दा उनकै साथमा थियो । प्रहरी फर्किएपछि सुदर्शनसम्म कसैले त्यो र्पुयाइदिएको हुनसक्ने प्रहरीको आशंका छ ।
अधिकारीहरुका अनुसार काफल डाँडाबाट बाहिरिने मौकाको खोजीमा रहेका वलीले काठमाडौंबाट स्कर्पियो गाडी मगाएका थिए । तर, राति करिब २ बजे त्यहाँबाट मकवानपुरका लागि हिँडेका उनी प्रहरीको फन्दामा परे ।
गाडीमा ‘लोडेड’ पेस्तोल, १५ राउण्ड गोली, विष्फोटक पदार्थ, डेटोनेटर लगायत पनि भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताएका छन् । अनुसन्धान अधिकारीहरुले त्यो पेस्तोललाई १० फागुनमा ललितपुरको नख्खुमा एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी भएको शक्तिशाली विष्फोटसँग जोडेर हेरेका छन् ।
‘विष्फोट अघि एनसेलमा ३ वटा मोटरसाइकलमा ६ जना हतियारधारी आएका थिए’, एक अधिकारीले भने, ‘त्यसमध्ये दुई जनाले भित्र प्रेसर कुकर बम राखेका थिए । उनीहरुलाई छेक्न खोज्ने क्रममा एक जनाले गार्डलाई पेस्तोल ताकेका थिए ।’
त्यही पेस्तोल वली सवार गाडीबाट बरामद भएको हुनसक्ने आशंकामा प्रहरीले छानबिन गरिरहेको हो । त्यो हतियारको विषयमा विस्तृत विवरण निकाल्नका लागि प्रहरीले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीले उनीहरुको साथबाट डायरी, ल्यापटप, दस्तावेज लगायत पनि बरामद गरेको दाबी गरेको छ ।
यद्यपि, दस्तावेजमा भावी योजना नसमेटिएको एक अनुसन्धान अधिकारीले बताएका छन् । ‘सरकारले लगाएको प्रतिवन्धको जनतामा गएर प्रतिकार गर्ने जस्ता विषय लेखिएको भेटिएका छन्’, उनले भने, ‘दस्तावेजहरु परीक्षणका लागि प्रयोगशालामा पनि पठाउँछौं ।’
पक्राउ परेका विप्लव समूहका ९ जना नेता, कार्यकर्ताको साथबाट २३ वटा मोबाइल बरामद भएको छ । ‘सुदर्शनले आफू एक्सपोज हुने डरले अरु कार्यकर्ताको मोबाइलबाट फोन गर्ने गरेको पाइयो’, ती अधिकारी भन्छन्, ‘सर्वसाधारणको नामबाट निकालिएको सीम कार्डबाट उनीहरुले सम्पर्क गर्ने गरेको देखियो ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्