सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नवजात शिशु भेटिएपछी युवतीले गरिन आत्महत्या

स्याङ्जाको भीरकोट नगरपालिका ७ मा नवजात शिशुको मृत शव भेटिएको छ भने सोही गाउँकी एक युवतीले आत्महत्या गरेकी छन् । नवजात शिशुको शव साँझको समयमा गम्बरबहादुर अघिकारीको बारीमा भेटिएको थियो । भोलिपल्ट दिउसो १ बजे बेगबहादुर अधिकारीको मलखादमा सालनाल भेटिएको थियो ।

बेगबहादुरकी २२ वर्षीया छोरीलाई स्थानीयवासीले त्यही दिन साँझ ६ बजे पासो लगाएर झुन्डिएको अवस्थामा देखेपछि पासो काटेर अस्पताल कुदाएका थिए । तर चिकित्सकले ती युवतीलाई बचाउन सकेनन् । वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा र्पुयाउनासाथ चिकित्सकले ती युवतीलाई जीवित नरहेको घोषणा गरेका थिए ।

नवजात शिशुको शव र युवतीको आत्महत्या । यी दुई दुखद् घटना संयोगमात्र हो वा अन्तरसम्बन्धित ? प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चैत १७ गते भीरकोट नगरपालिका ७ खिलुङस्थित गम्बरबहादुर अघिकारीको बारीमा महिना पुगी जन्मेको नवजात शिशुको शव भेटियो । वडाध्यक्ष शेषकान्त अर्यालमार्फत स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे ।

भोलिपल्ट घटनास्थल पुगेको प्रहरीले दिउँसो १ बजे बेगबहादुर अघिकारीको मलखाद नजिक गाडेको अवस्थामा सालनाल पनि भेटायो । शिशुको मृत शरीर र सालनालको दुरी झण्डै ६० मिटर छ ।

सोही दिन साँझ ६ बजे बेगबहादुरकी २२ वर्षीया अविवाहित छोरी स्नेहाले आफ्नै घरको काठ बलोमा सलको पासो घाटीमा लगाई झुण्डिएको र छटपटाइरहेको अवस्थामा देखेपछि स्थानीयवासीले पासो काटी स्वास्थ्य केन्द्र लगे । र, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले स्नेहालाई जीवित नरहेको घोषणा गरे ।

दुई घटनाको सम्बन्धबारे अनुसन्धान गरिरहेको प्रहरी त्यतिबेला झन् अचम्मित भयो जब आत्महत्या गरेकी आफ्नी छोरी र मृत भेटिएका शिशुको शव माग गर्दै बेगबहादुर अधिकारीले थप अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिए ।

शिशु आफ्नी छोरी स्नेहाले नै जन्माएको हुनसक्ने भन्दै बाबु बेगबहादुरले छोरी र शिशुको जिम्मा माग गर्दै प्रहरीमा थप अनुसन्धानका लागि जाहेरी दिएको प्रहरीले जनाएको छ ।

वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरी डीएनए परीक्षणको लागि नमूना संकलन गरेर दुबै शव अन्तिम संस्कारको लागि जोहेरीवाला बेगबहादुर अधिकारीको जिम्मा दिइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्न लागेको थाहा पाएपछि स्नेहाले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरी नायब उपरीक्षक भण्डारीको भनाई छ । वडाध्यक्ष शेषकान्त अर्यालका अनुसार स्नातक तहमा अध्ययरत स्नेहा गाउँमै सहकारी संस्थामा काम गर्थिन् ।

किसान परिवारमा जन्मेकी उनी आमा, बुवा र भाइसँग बस्थिन् । नगरप्रमुख छायाराम खनालसहितको टोलीसँगै धोवादी जाँदै गर्दा कुकुरले बच्चा ल्याएको सूचना आएपछि वडाध्यक्ष अर्यालले नै प्रहरीलाई खबर गरेका थिए ।

‘घटनालगत्तै गाउँका १७ वर्ष माथिका र ४० वर्ष ननाघेका युवतीलाई भेट्ने सूचना प्रसार गरियो’, अध्यक्ष अर्याल भन्छन्, ‘कुकुरमार्फत् नै सालनाल पत्ता लगाउन सहज बन्यो । जब सालनाल देखियो, केही घण्टामा स्नेहा कोठामा झुन्डिएको अवस्थामा भेटिइन् ।’

स्याङ्जा सदरमुकामबाट झण्डै १८ किलोमिटरको यात्रापछि भीरकोट पुग्न सकिन्छ भने भीरकोटबाट झण्डै १० किलोमिटरको यात्रापछि घटनास्थल भीरकोट नगरपालिका ७ खिलुङ पुग्न सकिन्छ ।

प्रहरीले पोस्टमार्टम तथा डीएनए परीक्षणको रिपोर्ट आएपछि घटनाबारे विस्तृत जानकारी दिने जनाएको छ । मृतक स्नेहा र शिशुको स्नेहाका बावु बेगबहादुरले मंगलबार नै अन्तिम संस्कार गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS