श्रीमतीलाई आगो लगाई मार्ने कोशिस, गम्भीर अवस्था
सिरहा नगरपालिका वडा नम्बर ८ मा श्रीमान् बेचन मण्डल खत्वेले बिहिबार आफ्नी २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा आगो लगाइ मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तत्कालै उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिए पनि त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।
चिकित्सकहरुका अनुसार आगोले ८० प्रतिसत जल्नु भनेको बाँच्ने सम्भावना निकै न्युन हो । घटना पश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् । प्रहरीले कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । बेचनले कञ्चनमाथी आगो किन लगाए त्यो खुलेको छैन ।
यसअघि वैशाख ५ मा धनुषाको शहीदनगर नगरपालिका वडा नं. १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए । उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्