सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको एकता

पार्टी एकीकरणको वर्ष दिनपछि नेकपाले जनवर्गीय संगठनको एकता टुंग्याएको छ । सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो ।

नेपाल कम्युनिष्ट पार्टीले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ । सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ ।

नेकपामा २३ ओटा जनवर्गीय संगठन हुनेछन् । तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ । तत्कालीन एमालेले विद्यार्थी, मजदुर, बुद्धिजीवी, पेसागत, जनसांस्कृतिक महासंघ लगायतको नेतृत्व लिएको छ ।

तत्कालीन माओवादीले युवा, महिला, पत्रकार, दलित, जनजाति लगायतको नेतृत्व पाएको छ । युवा, विद्यार्थी, मजदुर र महिलाको नेतृत्वका लागि दुवै पक्षले अन्तिमसम्म दाबी गरेकाले एकता टुंग्याउन विलम्ब भएको थियो ।

सचिवालय बैठकले जनवर्गीय संगठनको भागबन्डा लगाएर नेतृत्व चयन गरेको वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । ‘जनवर्गीय संगठनको नेतृत्व टुंग्याउने काम भयो । धेरैजसो संगठनमा दुवैतर्फका अध्यक्ष रहेकालाई नै संयोजक र सह–संयोजक बनाइएको छ । कुनै कुनै संगठनमा भने फरक मापदण्डका आधारमा नेतृत्वमा तानिएको छ,’ खनालले भने, ‘नेतृत्वको घोषणा पार्टी एकताकै दिन गरिनेछ ।’

अनेरास्ववियुमा तत्कालीन अखिलका महासचिव ऐन महरले संयोजकको जिम्मेवारी पाएका छन् । युवामा रामप्रसाद सापकोटा, महिलामा अमृता थापा, मजदुरमा विनोद श्रेष्ठ, पत्रकारमा महेश्वर दाहाल, बुद्धिजीवीमा डा.दिनेशचन्द्र देवकोटा र पेसागत संगठनमा विश्वनाथ साह संयोजक तोकिएका छन् ।

यसैगरी दलितमा तिलक परियार, जनजातिमा सुरेश आलेमगर, जनसांस्कृतिक महासंघमा खगेन्द्र राई, मुस्लिममा सराज महमद फारुकी, प्रवासी नेपाली मञ्चमा लोकनाथ भण्डारी, भूपू सुरक्षाकर्मीमा धनबहादुर चन्द संयोजक भएका छन् ।

सहसंयोजक चुनिएका व्यक्तिले आफू बस्न नचाहेमा उक्त स्थानमा अर्काे व्यक्तिलाई बनाउन सकिने प्रावधान नेकपाले खुला राखेको छ । विद्यार्थीमा सह–संयोजक तोकिएका रन्जित तामाङले अस्वीकार गरेमा उनको ठाउँमा अर्को व्यक्तिलाई पठाउन सकिनेछ ।

किसान संगठनको नेतृत्व चयन भएको छैन । किसान महासंघको नेतृत्वमा रहँदै आएका वामदेव गौतम बिहीबारको सचिवालय बैठकमा अनुपस्थित रहेका कारण संगठनको नेतृत्वका विषयमा सचिवालयले निर्णय नगरेको स्रोतले बताएको छ ।

बैठकले पोलिटब्युरो गठनबारे पनि कुनै निर्णय लिएको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठले पोलिटब्युरो अर्को बैठकबाट टुंग्याइने बताएका छन् । ‘पोलिटब्युरो गठन र केन्द्रीय नेताहरूको कार्य विभाजन बाँकी छ । अर्काे बैठकबाट टुंगो लाग्नेछ,’ उनले भने । यस्तै उपत्यका विशेष प्रदेशको पनि टुंगो लागेको छैन ।

यस्तो छ जनवर्गीय संगठनको नेतृत्व । संयोजक/सह–संयोजक
मजदुर – विनोद श्रेष्ठ (एमाले)/जगत सिम्खडा (माओवादी)
महिला – अमृता थापा (माओवादी)/सीता पौडेल (एमाले)
युवा – रामप्रसाद सापकोटा (माओवादी)/रमेश पौडेल (एमाले)
विद्यार्थी – ऐन महर (एमाले)/रन्जित तामाङ (माओवादी)
जनसांस्कृतिक – खेगन्द्र राई (एमाले)/सरल सहयात्री (माओवादी)
मुस्लिम – सराज अहमद फारुखी (एमाले)/अतहर हुसेन (माओवादी)
दलित – तिलक परियार (माओवादी)/बोमबहादुर विश्वकर्मा (एमाले)
बुद्धिजीवी – डा. दिनेशचन्द्र देवकोटा (एमाले)/कृष्ण केसी (माओवादी)
पेसागत महासंघ – विश्वनाथ प्याकुरेल (एमाले)/दयाराम बस्याल ( माओवादी)
भूतपूर्वसैनिक – धनबहादुर चन्द (एमाले)/सहसंयोजक टुंगिन बाँकी
पत्रकार – महेश्वर दाहाल (माओवादी)/गणेश बस्नेत (एमाले)
मानवअधिकार – मीनबहादुर शाही (एमाले)/हुकुम पोखरेल (माओवादी)
अपांग योद्धा संघ – इन्द्रबहादुर गुरुङ (माओवादी)/रामप्रसाद ढंगाना (एमाले)
खेलकुद – पुरुषोत्तम पौडेल (एमाले)/शिव कोइराला (माओवादी)
कानुन – रुद्र नेपाल (एमाले)/दीनमणि पोखरेल (माओवादी)
भूमिहीन सुकम्बासी – रामप्रीत पासवान (एमाले)/पदम देवकोटा (माओवादी)
उद्योगी/व्यवसायी – लक्ष्मीदास मानन्धर (एमाले)/श्याम पाठक (माओवादी)
इन्जिनियर – शम्भुबहादुर श्रेष्ठ (एमाले)/डा. हरिराम पराजुली (माओवादी)
प्रवासी – लोकनाथ भण्डारी (एमाले)/ईश्वरी भण्डारी (माओवादी)
आदिवासी जनजाति – सुरेश आलेमगर (माओवादी)/शेरबहादुर तामाङ (एमाले)
निर्माण व्यवसायी – यज्ञध्वज कार्की (एमाले)/शिव चौलागाईं (माओवादी)

फेसबुकबाट कमेन्ट गर्नुहोस्