सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

९ जनाको हत्या हुनु ४ दिन अघि नुनमा सिसाको धुलो

पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ को आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स तरिकाले हत्या भएको छ । मुकुण्डोधारी अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको खुल्न आएको छ ।

अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । यो समाचार तयार पार्दासम्म घटना रहस्यमय नै छ ।

हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि अर्को घटना पनि घटेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।

राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए । केही दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । सो क्रममा उनीहरु धनराजको घरमा बसेका थिए ।

उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए । उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’

खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् । खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म कुरा खुलेको छैन ।

रहस्यकै बिचमा ९ जनाको सामुहिक हत्या भएको स्थान नजिकै एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । सामुहिक हत्या र झुण्डिएको अवस्थामा भेटिएको शवको बिच कुनै अन्तरसम्बन्ध छ छैन त्यो भने खुलेको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्