नौ जनाको हत्याराले आत्महत्या गरेको खुलासा
पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखिएका मानबहादुर मोखिमको शव मिक्लाजुङ गाउँपालिकाको वडा नं. ८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।
अनुसन्धान टोलीका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अनुसन्धान अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । स्रोतले भनेको छ–‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।’
घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो । जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताएका छन् । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’
गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ । प्रदेश प्रहरी कार्यालयले पनि एसएसपीको नेतृत्वमा टोली खटाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्