मोदी झन शक्तिशाली, हिन्दु नारा रुचाए जनताले
भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ । निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हाँसिल गरेको हो । लोकसभामा भाजपा गठबन्धनलाई दुई तिहाइका लागि ९ सिट कम भएको छ ।
५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपा सन् २०१४ मा भन्दा यसपटक २२ सिट बढीमा विजयी भएको छ । भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले एकछत्र जित निकाल्न सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एनडीए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयू) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले २÷२ सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एकएक सिट जितेका छन् । त्यसैगरी भाजपा समर्थन रहेका एक स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।
विपक्षी गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमा मात्रै जित हाँसिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस नेतृत्वको यूपीए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ । यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी) ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन् ।
त्यसैगरी रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस—एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक एक सिटमा जित हासिल गरेका छन् ।
अप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयनका लागि मतदान गरेका थिए । देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । बिहीबार बिहानदेखि मतगणना सुरु भएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्