सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानबाट सेक्स भिडियो लिक गरिदिने युवतीको धम्की

काठमाडौंमा डेरा गरी बस्ने २३ वर्षीया कल्पना (नाम परिवर्तन)को विवाह भएको १५ दिन मात्रै भयो । उनलाई फेसबुकबाट धेरैले शुभकामना दिए । तर, एक युवाले कल्पनासँग खिचेको फोटो राखेर कमेन्ट गरे । त्यसमै केहीले ‘अर्काको गलफ्रेन्ड चोरेर विवाह गर्ने’ भन्दै प्रतिक्रिया जनाए ।

ती युवती र उनका पतिले उक्त घटना सहन सकेनन् । उनीहरूले प्रहरी गुहारे । प्रहरीले कमेन्ट गर्ने युवाको खोजी गरिरहेको छ । तापनि, ती युवाले युवतीका आफन्तलाई पुराना फोटो पठाएर हैरान पार्न छाडेका छैनन् ।

बागबजारमा डेरा गरी बस्ने सुजन (नाम परिवर्तन)को भेट जापानमा रहेकी एक युवतीसँग फेसबुकमा भयो । उनीहरू फेसबुकमै गफिन थाले । सुजनले म्यासेन्जरमा भिडियो कल गरे । ती युवतीले संवेदनशील अंग देखाउन भनिन् । युवकले सर्वांग नांगो भएर भिडियो च्याट गरे ।

तर, उनी तब छाँगाबाट खसेझैं भए जब युवतीले ५ हजार डलर नदिए गुप्तांगसहितको फोटो र भिडियो फेसबुकमा हालेर भाइरल बनाउने धम्की दिइन् । युवक प्रहरीमा पुगे । प्रहरीले फेसबुक एकाउन्ट बन्द ग¥यो । समस्या तत्काललाई समाधान भए पनि युवती जापानमै रहेकाले उनी ढुक्क हुन सकेका छैनन् ।

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् ।

समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे ।

साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् ।

सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ ।

महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ । ‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’

उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । उजुरीको ३९.९२ प्रतिशत उजुरी यो उमेर समूहले लिएर प्रहरीमा पुग्ने गरेको देखिएको छ ।

२० वर्षभन्दा कम उमेर समूहका किशोरकिशोरीले पनि दुरुपयोग गर्ने गरेको महाशाखाको अध्ययनले देखाएको छ । २०.५ प्रतिशत उजुरी किशोरकिशोरीको छ । यो उमेर समूहमा स्कुल र कलेज पढ्ने किशोरकिशोरी बढी छन् ।

३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशतले महाशाखामा उजुरी गरेका छन् । यसमा गृहिणी, शिक्षक, वैदेशिक रोजगारमा पुगेका युवा बढी पीडित देखिएका छन् । बाँकी ७.९८ प्रतिशत ४० देखि ६० वर्ष उमेर समूहका व्यक्तिले प्रहरीमा उजुरी दिने गरेको देखिएको छ । फेसबुक ह्याक हुने, पासवर्ड बिर्सिनेजस्ता समस्या यो समूहमा देखिन्छ ।

महाशाखाका अनुसार २०७२ मा ८ सय ३०, २०७३ मा १ हजार १ सय ९७, २०७४ मा १ हजार ४ सय ८२ र २०७५ मा १ हजार ५ सय ७० वटा मु्द्दा दर्ता भएका छन् । ‘पीडितले ल्याएका सबै उजुरीको मुद्दा दर्ता नहुन पनि सक्छ’, एसएसपी थापा भन्छन्, ‘कतिपय कुरा परिवारभित्रकै हुन्छन् । त्यसमा हामीले सम्झाइबुझाइ गरी पठाउँछौं ।’

उनका अनुसार युवामाझ फेसबुक दुरुपयोगको समस्या भयावह देखिएको छ । दिएको ऋण फिर्ता नभए, चेक बाउन्स भए, फोन नउठाए जस्ता विषयमा पनि फेसबुकमा लेखेर अरूको मानमर्दन गर्ने गरेका घटनासमेत प्रहरीमा आउने गरेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्