जापानमा भिषण बर्षा, ८ लाख मानिस असुरक्षित
जापानको दक्षिणपश्चिमी क्षेत्रमा भीषण वर्षा भएको छ । लगातार भइरहेको भिषण वर्षाका कारण पहिरो आउन सक्ने खतरा देखिएपछि ७ लाख ९८ हजार १ सय ७० जनालाई सुरक्षित स्थानमा सार्न पहल गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
बुधवार जापान मेट्रोलोजिकल एजेन्सी (जेएमए)ले आकस्मिक पत्रकार सम्मेलन गर्दै त्यहाँका मानिसलाई तुरुन्तै ठाउँ खाली गर्न आग्रह गरेको हो । वर्षा रोकिने कुनै संकेत नदेखिएका कारण अन्य जोखिम आउनु र विशेष चेतावनी जारी हुनु भन्दा अगाडी नै सुरक्षित स्थानमा जान एजेन्सीले सम्बन्धित क्षेत्रका बासीन्दालाई अनुरोध गरेको हो ।
कागोशिमा महानगरले २ लाख ७५ हजार २ सय ८७ घरधुरीका ५ लाख ९४ हजार ९ सय ४३ नागरिकलाई बसाइ सर्न आकस्मिक निर्देशन जारी गरेको छ । वर्षा विहिवार विहानसम्म जारी रहने अनुमान गरिएको छ । क्युसु द्वीप इलाकामा ८० मिलिमिटर प्रति घण्टाको हिसाबले वर्षा हुने अनुमान यहाँका मौसमविद्हरुले जानकारी दिएका छन् ।
![](https://everestwall.com/wp-content/uploads/2019/07/water-fall-in-japan-qsyu-1024x664.jpg)
जापानको दक्षिणपश्चिम शहर पहाड, नदी र अन्य खतरनाक क्षेत्रको नजिक रहेका कारण उनीहरुको सुरक्षामा बढी जोड दिइएको हो । शहरमा ९० ओटा आधार शिविरहरु खोलिएका छन् र त्यहाँ खानेकुरा लगायत अन्य आधारभूत आवश्यकता प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै किरिसिमा महानगरले आफ्ना ६१ हजार ३ सय ९५ घरधुरिका १ लाख २५ हजार ८ सय ६८ जना नागरिकलाई सुरक्षित स्थानमा सर्न निर्देशन जारी गरेको छ । सो क्षेत्र र छिमेकी क्षेत्रहरुले पनि ठाउँ खाली गर्ने आकस्मिक निर्देशन जारी गरिसकेका छन् ।
त्यस क्षेत्रमा अन्यत्रको तुलनामा बढी पानी पर्ने अनुमान यहाँको मौसम विज्ञान विभागले पहिलेनै गरेको थियो । तर पनि यहाँबाट स्थानीय नागरिकलाई सार्ने काम बुधबार बिहानसम्म पनि गरिएको थिएन ।
बुधबार बिहान जापान सरकारले यो आदेश दिएपछि यहाँका सुरक्षा निकाय र उद्वारकर्मीहरु यहाँका स्थानीय नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ । भारी वर्षाका कारण त्यस क्षेत्रका रेलवे सेवा पनि केही स्थगित भएका छन् र केही सेवामा कटौती गरिएका छन् ।
यो समाचार जापानमा नेपालीद्वारा सञ्चालित बिइङएनपि अनलाईनबाट जस्ताको तस्तै साभार गरिएको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्