सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यती एयरको विमान दुर्घटना, हवाईसेवा अबरुद्ध

नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएपछी हवाई सेवा अवरुद्ध भएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको छ ।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका तीन जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

सांकेतिक तस्विर

यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपट्टिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो ।

जहाजमा २ बच्चासहित ६६ जना यात्रु थिए । रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि २ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको बिमानस्थल श्रोतले जनाएको छ ।

बिमानस्थल सुचारु हुन अँझै समय लाग्नसक्ने बिमानस्थल सुचना बिभागले जनाएको छ । अहिले घाँसे मैदान र रनवेको आधा भागमा रहेको विमानलाई तानेर रनवेभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ ।

अन्तराष्ट्रिय उडान दिल्लीमा डाइभर्ट
यता विमानस्थल बन्द भएपछि नेपाली आकाशमै होल्डमा रहेका विमानहरु डाइभर्ट गर्न थालिएको छ । त्रिभुवन विमानस्थल कन्ट्रोल टावरका अनुसार यतिबेला अन्तराष्ट्रिय विमानलाई दिल्लीमा डाइभर्ट गरिएको छ । आन्तरिक उडानलाई भने विभिन्न स्थानमा फिर्ता पठाइएको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्