सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो

अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृ*त्यु भएको छ भने ४ जना सम्पर्कविहीन भएका छन् ।

सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृ*त्यु भएको छ भने सत्यवती–३ कै कसिङ्थलामा २ जनाको ज्यान गएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिएका छन् ।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृ*त्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म ४ जना बेपत्ता छन् ।

बेपत्ता भएकाको अहिलेसम्म जानकारी केही नआएको उनले बताएका छन् । घटनास्थल कालीगण्डकी कोरिडोरबाट झण्डै दुई घण्टा ठाडो उकालो हिँडेपछि मात्र पुग्न सकिन्छ ।

Gulmi Pahiro

तीन घर पूर्ण रुपमा पुरिएको र त्यसमा ९ जना बस्ने गरेको स्थानीयले बताएका छन् । लिम्घाको भीरकुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढी बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् ।

त्यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताएका छन् । अहिले पनि लेदो माटोसहित पहिरो खसिरहेको उनले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्