सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गोर्खा भर्तीबारे पुनरावलोकन हुन्छः ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोर्खा भर्तीको विषयमा पछिल्लो समयमा प्रश्न उठेको भन्दै यसमा पुनरावलोकन गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले हालको सन्दर्भमा गोर्खा भर्तीबारे प्रश्न उठेको भन्दै यसमा पुनरावलोकन गर्नुपर्ने देखिएको बताएका हुन् ।

ज्ञवालीले भनेका छन्–‘कुनै जमानामा रोजगारीको अवसरका लागी महत्वपूर्ण माध्यम पनि बनेको थियो होला तर अहिले सार्वभौम मुलुकले अर्को सार्वभौम मुलुकको सेना बन्न आफ्ना नागरिक पठाउनु हुन्छ कि हुँदैन ? त्यसरी जाने नागरिकले त्यो देशको पक्षमा उभिएर नेपालको अर्को मित्रसँग लडाइ लड्नुपर्ने अवस्थामा हाम्रो स्वतन्त्रता, असंलग्नताको सिद्धान्तमा कसरी मिल्छ ? भन्ने प्रश्न उठिरहेको छ । त्यही भएर यी समग्र पक्षको पुनरावलोकनको प्रक्रियामा छौं ।’

नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सम्बन्धको आधारमा बेलायती सेनामा नेपालीले काम गरिरहेको भन्दै अब त्रिपक्षीय सन्धीको सान्दर्भिकता नरहेको मन्त्री ज्ञवालीले बताएका छन् । मन्त्री ज्ञवालीले भने–‘केही समयअघि सम्पन्न प्रधानमन्त्रीज्यूको बेलायत भ्रमणका बेलामा कुरा उठाएका छौं । त्रिपक्षीय सन्धीको सान्दर्भिकता रहेन । भारत र बेलायतसँग छुट्टाछुटै कुरा गर्न चाहन्छौं भनेका छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमणका क्रममा संयुक्त विज्ञप्तिमा पनि यो विषय औपचारिक एजेण्डा बनेको पनि उनले बताएका छन् । त्यस्तै बेलायती रक्षा राज्यमन्त्री सन् २०१९ को जनवरीमा नेपाल भ्रमणका क्रममा आफूले यो विषय उठाएको पनि उनले बताएका छन् ।

Pradip Gyawali
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

उनले भनेका छन्–‘मैले जनवरी २०१९ मा बेलायती रक्षा राज्यमन्त्रीलाई ब्रिटिश गोर्खाले उठाएका जायज माग संबोधनका लागि न्याय, समानता र निष्पक्षतामा आधारित रहेर पहल लिन अनुरोध गरेको छु र सन् १९४७ को सन्धीको मर्म र ब्रिटिश गोर्खामा नेपाली महिलाको भर्ती लगायतका विषयमा पुनरावलोकन गर्न आवश्यक छ । त्यसमा हामी छलफल गर्न चाहन्छौं भनेको छु ।’

गोर्खा भर्तीलाई अब त्रिपक्षीय सन्धीको रुपमा नभई नेपाल र बेलायतबीचको द्विपक्षीय मामिलाको रुपमा समाधान गर्न चाहेको मन्त्री ज्ञवालीले बताएका छन् । सांसदहरुले सरकारले गोर्खा भर्तीको समस्या समाधान गर्न आलटाल गरिरहेको आरोप लगाएका थिए ।

तर मन्त्री ज्ञवालीले २०३ वर्षअघिदेखिको समस्या रातारात समाधन नहुने प्रतिक्रिया दिएका थिए । उनले भने–‘धेरै प्रश्न छन्, सबै कुरालाई ध्यानमा राखेर यो विषयमा समाधान खोज्छौं । सबैभन्दा उच्च तहबाट पहल भइरहेको छ । आलटाल भएको छैन ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्