मन परेकी मायाँसँग बिहे गर्न एक भारी दाउरा
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ । छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ । नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन ।
उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन् । दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ । केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्नुपर्छ ।
यस्तो प्रथा धार्चे गाउँपालिकाका लापु लगायत सात वटै वडाका गाउँबस्ती, बारपाक स्वाँरा, सौरपानी, घ्याच्चोकमा प्रचलित छ । यसरी गरिएको विवाहमा न लाखौं खर्च, न झन्झट ।
‘केटाले आफूलाई मन पर्ने केटीको घरमा दाउराको भारी लगेर राखिदिन्छ’, धार्चे गाउँपालिका–५ यमगाउँका टेकबहादुर गुरुङ भन्छन्, ‘फिर्ता गरेनन् भने केटी विवाह गर्न सहमत भई भनेर केटाले बुझ्छ । अनि बिस्तारबिस्तार केटीको घरमा गएर काममा सघाउन थाल्छ । केटी र उसका अभिभावकको मन जितेपछि विवाह पक्का हुन्छ ।’ यसरी विवाह गरेपछि छोराको छेवरमा रीत र्पुयाउने चलन छ ।
छोराछोरी भईसकेपछी बिहे गर्ने चलन
प्रायः बुबाआमाको बिहे छोराछोरीले हेर्दैनन् । तर उत्तरी गोरखाका गुरुङ समुदायमा सन्तान भइसकेपछि विधिवत् रुपमा विवाह गर्ने चलन छ । उसो त गण्डक क्षेत्रका अन्य गाउँ वस्ती र समुदायमा पनि यो चलन नभएको हैन । छेवर हुनुअघि छोराछोरी बोकेर र दाजुभाइ खलकका आठ, दसजना जन्ती लिएर दुलहीको घरमा जाने चलन छ । त्यहाँ जाँदा दुलहीको बुबाआमा, दाजुभाइ खलकका लागि बोकाको फिला, रक्सी र रोटी लग्ने टेकबहादुर गुरुङ बताउँछन् ।
‘ससुरालीमा पुगेपछि सम्धी–सम्धीले दैलामा बसेर अक्षता र पैसा तीन फेरसम्म साटासाट गर्छन् । ढोकामा भाले काटेपछि दुलहा पक्षले घरभित्र प्रवेश पाउँछन्’, गुरुङ भन्छन्, ‘घरभित्र दहीको टीका लगाउने, दुलहालाई सेतो फेटा र दुलहीलाई पछ्यौरा लगाउने काम हुन्छ । मेरो छोरीलाई नुहाइदिन सक्छौं ? मेरो छोरीको जुम्रा हेरिदिन सक्छौं, मेरो छोरीलाई खान लाउन दिन सक्छौं ? भनेर एकतले बाचा, दुईतले बाचा, तीनतले बाचा बाँध्ने काम हुन्छ । सातवटा बत्ती टेक्न लगाएर भूतप्रेत भगाउने काम गरेपछि खानपिन हुन्छ ।’
छरछिमेक, गाउँघर निम्ता गर्ने चलन छैन । छिमेकमा विवाह छ भनेपछि स्वतस्फूर्त रुपमा इष्टमित्र, छरछिमेक आउँछन् । उनीहरु नाचगान गरेर रमाइलो गर्छन् । भोलिपल्ट दुलहादुलही फर्किने चलन छ ।
मामा चेली–फुपू चेलीको हक
कुनै समुदायमा मामाकी छोरी वा फुपूकी छोरीलाई दिदीबहिनी मानेर पुज्ने चलन छ । उत्तरी गोरखाका संस्कृति सम्बन्धी ज्ञाता टेकबहादुर गुरुङ भन्छन्, ‘हाम्रो संस्कारअनुसार मामा चेली वा फुपू चेलीलाई हक लाग्छ । हक लाग्ने अथवा अरू जोकोही केटी मन र्पयो भने मगनी गरिदिन केटाले बुबाआमालाई अनुरोध गर्छ । केटाका बुबा र दाजुभाइ खलक रक्सीको ठेकिपोङ लिएर केटीको घरमा मगनीका लागि जान्छन् । केटीका माइती खलकले पोङ स्वीकार गरे भने विवाहको लगन जुराइन्छ ।’
विवाह गर्नुअघि वर्ग मिलाउने परम्परा रहेको उनी बताउँछन् । सर्प वर्गसँग गरुड वर्ग मिल्दैन । बाघ वर्गसँग भेडा, बिरालो तथा बाँदर वर्ग नमिल्ने उनले बताए । गरीबीका कारण केटा पक्षले रीत र्पुयाउन नसके केटी पक्षले नै दुवै पक्षलाई बोलाएर खुवाउने चलन छ ।
दाइजो दिने चलन छैन । कसैलाई छोरीलाई केही दिन मन लाग्यो भने चरेसको थाल, तामाको गाग्री, रक्सी पार्ने भाँडासेट (खोकिया) मात्र दिन्छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्