सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हालसम्मकै खतरामा मानवजाती, चौबाटोमा पृथ्वी

संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुखले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतरा सामना गरिरहेको चेतावनी दिएकी छिन् ।

पेट्रिसिया एसपिनोसाले जलवायु परिवर्तनलाई सम्बोधन गर्न पोल्याण्डमा आयोजित अन्र्तराष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा सो चेतावनी दिएकी हुन् ।

उनले भनिन्–‘जलवायु परिवर्तनले विश्वका विभिन्न समुदाय नराम्ररी प्रभावित भएका छन् । प्राकृतिक विपदले जताततै विनाश निम्त्याइरहेको छ । यस्तोमा जलवायु परिवर्तनको प्रभाव कम गर्न हामीले आपतकालीन कदमहरू चाल्न थाल्नु अपरिहार्य भएको छ ।’

जलवायु परिवर्तनलाई सीमित पार्न आयोजित महत्वपूर्ण अन्र्तराष्ट्रिय सम्मेलन तोकिए भन्दा एक दिन अगाडि नै पोल्याण्डमा सुरु भएको छ ।

जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको पोल्याण्ड सम्मेलनमा बताएका छन् ।

एक दुर्लभ कदमको रूपमा हेरिएको उक्त घटनामा राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदमका लागि अपिल गरे ।

सन् २०१५ मा प्यारिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्वपूर्ण पहलको रूपमा पोल्याण्डको क्याटोभिट्समा आयोजित सम्मेलनलाई लिइएको छ ।

प्यारिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् ।

कोप ट्वेन्टी फोर नामक सो सम्मेलनका वार्ताकारहरू प्रगतिका निम्ति दबाबमा परेकाले निर्धारित समयभन्दा एक दिन अगावै सम्मेलन सुरु भयो ।

कन्फरेन्स अफ द पार्टीज वा कोप भनिने यो सम्मेलन गत अक्टोबरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको अन्तरसरकारी प्यानेल वा आइपीसीसीले विश्वव्यापी तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्नु पर्ने निचोडसहितको रिपोर्ट आएपछिको पहिलो हो ।

आइपीसीसीले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने भनेको छ ।

सो सम्मेलनमा २९ राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन् ।

बीबीसीबाट

फेसबुकबाट कमेन्ट गर्नुहोस्