एनआरएनए युरोपको उप–संयोजकमा भिड्दै कृष्ण
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन नजिकिँदै गर्दा यतिबेला विश्वका प्राय मुलुकहरुमा राष्ट्रिय समन्वय परिषदका निर्वाचनहरु लगभग सकिएका छन् । सबै देशको राष्ट्रिय समन्वय परिषदको निर्वाचन सकिएपछी विश्वभरका गैरआवासीय नेपालीहरु अन्तर्राष्ट्रिय समन्वय परिषदको चुनावको प्रतिक्षामा छन् ।
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा एनआरएनए अभियान्ता कृष्ण तिमल्सिनाले युरोपको उप–संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गर्दै एनआरएनएका अभियान्ता तिमल्सिनाले देश विकासको लागि विदेशमा रहेका नेपालीको ज्ञान सिप र दक्षताको प्रयोग गर्न पर्ने बताएका छन् ।
गैर आवासिय नेपाली संघमा एकता हुन आवश्यक भएको बताउँदै उनले विदेशमा सिकेको ज्ञान देशको विकासमा खर्चिन ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । उनले युरोपमा एनआरएनए एनसीसीलाई थप बिस्तार गर्न, युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन आफुले उम्मेद्वारी दिएको प्रस्ट्याएका छन् ।
आफ्नो उम्मेद्वारीको औचित्यबारे प्रस्ट्याउँदै उनले युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना आफूले अगाडी सारेको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्