सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा नेपाल फेस्टिवल, प्रोफिट सर्भिसको साथ

नेपाली साझा समाज जापानको आयोजना र प्रोफिट सर्भिस हाकेन कम्पनीको सहयोगमा सेप्टेम्बर २८ र २९ मा गुन्मामा हुन गईरहेको नेपाल फेस्टिवल–२०१९ को सम्पुर्ण तयारी सकिएको छ । नेपाल फेस्टिवल गुन्मा मुल आयोजक समितिका उप–संयोजक सञ्जय गुरुङ र शेखरमान डंगोलले एभरेष्टवालसँग कुरा गर्दै पुर्व तयारीका सबै काम पुरा भएको बताएका हुन् ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष–२०२० को प्रचारप्रसारमा सहयोग होस् र गुन्मा आसपासका जापानीहरुले नेपाली कला, संस्कृति, नेपाली परिकार र भेषभुषाका साथै नेपालका पर्यटकिय स्थलहरुको बारेमा जानकारी पाउन भन्ने उद्देष्यले फेस्टिवलको आयोजना गरिएको उप–संयोजकद्वयले बताएका छन् ।

नेपाल फेस्टिवललाई गुन्माकेन अन्तरगत पर्ने ओईजुमी सिटी अफिसले सह–आयोजकको रुपमा सहयोग गरेको छ । जापानको स्थानिय निकायले समेत फेस्टिवललाई सह–आयोजकका रुपमा सहयोग गरेको हुँदा फेस्टिवल सोचे भन्दा राम्रो र भव्य हुने आशा गरिएको उप–संयोजक गुरुङ र डंगोलले बताएका छन् ।

फेस्टिवलमा नेपाली रेष्टुरेन्ट, रेमिट्यान्स कम्पनी, नेपाली कला संस्कृति झल्कने स्टलहरु र भिजिट नेपालको छुट्टै सचिवालय डेस्क रहने बताईएको छ । फेस्टिवलमा जापानमै बस्दै आएका चर्चित लोकदोहोरी गायक सुर्य खड्का, लोक आधुनिक गायक सर्वज्ञमान शाक्य लगायत अन्य प्रतिभावान गायक गायिका उपस्थित हुने बताइएको छ ।

Nepal Festival in Gunma

त्यसैगरी नेपाली गितहरुमा नृत्य गरेर चर्चा बटुल्न सफल कलाकार जापानी नागरिक इको ओकामोतोको पनि प्रस्तुती रहने छ । त्यस्तै आशा कल्चरल एकेडेमी म्युजिक ब्याण्ड र लाफा ब्याण्डको प्रस्तुती पनि मेलाको आकर्षणका रुपमा रहनेछन् । मेलामा नेपाली कला संस्कृति झल्कने शेर्पा, तामाङ, गुरुङ र नेवारी लगायतका नृत्यहरु पनि प्रस्तुत गरिनेछ ।

मेलामा देउराली पञ्चेबाजा समुहको बिशेष प्रस्तुती रहनेछ । नेपालको परम्परागत गोलघर पनि मेलामा प्रर्दशन गरेर राखिने छ । यसबाहेक नेपाली कला र संस्कृति झल्कने अन्य बिबिध सामाग्रीहरु पनि प्रदर्शनमा राखिने आयोजक साझा समाजका अध्यक्ष बुद्धी शेरचनले बताएका छन् ।

नेपाल फेस्टिवलको प्रमुख अतिथी ओईजुमी सिटीका मेयर मुरिआमा तोसीआकी रहने साझा समाजका अध्यक्ष बुद्धी शेरचनले बताएका छन् । फेस्टिवलमा ओईजुमी सिटी पोलिसका इन्चार्ज, गुन्माकेनका सांसद अतिथीका रुपमा उपस्थित हुने बताइएको छ । ओइजुमी सिटि अफिसले आफ्नो अफिसियल वेभसाईट र ट्विटरबाट नेपाल फेस्टिवलको प्रचारप्रसार समेत गरेको छ ।

मेलामा नेपालको पर्यटन सम्बन्धि जानकारी दिन छुट्टै सुचना केन्द्र समेत राखिने भएको छ । सुचना केन्द्र मार्फत मेलामा आउने जापानी नागरिकलाई नेपालका पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिने पर्चा, पम्पलेट र नक्सा उपलब्ध गराईने छ । साथै अनलाईन र मौखिक रुपमा समेत आवश्यक जानकारी उपलब्ध गराईने अध्यक्ष शेरचनले बताएका छन् ।

जापानको सरकारी निकायले नेपाली फेस्टिवलमा सहकार्य गरेको यो पहिलो पटक हो । सेप्टेम्बर २८ र २९ तारिखका दिन शनिबार र आईतबार बिदाको दिन पारेर हुन लागेको नेपाल फेस्टिवल गुन्माकेनको आईजुमी माचीस्थित इजुमी मो मोरिमामा हुँदैछ । फेस्टिवललाई सञ्जय गुरुङ लगायतका नेपालीहरुद्वारा सञ्चालित हाकेन कपम्नी प्रोफिट सर्भिसले मुख्य आर्थिक सहयोग गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्