सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ को मृत्यु, ४० घाईते
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमै ६ जनाको र २ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन । उद्धारकार्यमा खटिरहेका भोटसिपाकै स्थानीय नविन गिरीका अनुसार शव र घाइतेको धमाधम उद्धार भइरहेको छ ।

गिरिले भने–‘एम्बुलेन्स नपाइएपछि घाइतेलाई यात्रुबस, बोलेरो सवारीबाटै उपचारार्थ लगिँदैछ, ५ शव निकालिएको छ भने, एउटा भित्रै चेपिएको छ ।’ बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाट तल खसेर क्षतिग्रस्त भएको थियो ।
अहिले पनि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । प्रहरीले खबर पाए लगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो । गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने–‘थप विवरण आउन बाँकी छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्