सरकार कालापानीबाट भारतीय सेना हटाउ !
नेपालको अन्तराष्ट्रिय सीमा काली नदीसम्म रहेकाले त्यहाँको भूभागमा भारतले दाबी गर्न नमिल्ने विज्ञहरूले बताएका छन् । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ ।
भारतले हालै जारी गरेको नक्सामा काली नदीलाई आफ्नो भूभागमा पारेपछि दुई देशबीच पुनः विवाद उत्पन्न भएको छ । कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ ।
काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो । सन् १८५६ अघिका नक्सा, सन्धि सम्झौता र दस्ताबेज देखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ ।

सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो । जुन नदीको वास्तविक उद्गम दार्चुलाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो । सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ ।
सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो । कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति (लिपुखोला) लाई काली लेख्न सुरु गरेको हो ।
सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने बताएका छन् । नदीविद् जगतप्रसाद भुसालले कुनै बेला एक व्यक्ति वा समूहको मानवीय गल्तीले गुमेको हुन सक्ने भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको बताए । उनले भने–‘यी ठाउँबाट भारतीय सेना हटाउनुपर्छ ।’
काली नदी उद्गमस्थलको अध्ययन गरेका भुसालले नदी विज्ञानअनुसार काली नदीको शिर लिम्पियाधुरा भएको स्पष्ट पारे । ‘लिपु खोलालाई काली नदी भनेर स्वीकार गर्नु हाम्रो ठूलो गल्ती थियो ।’ उनले भने, ‘यो गल्ती नापीकै कर्मचारीले गरेका हुन् । यसलाई ध्यान दिएर सरकारले तथ्यका आधारमा समाधान गर्नुपर्छ ।’
लिपु खोलालाई काली नदी भनेर स्वीकार गरेपछि भारतले कमजोरीको फाइदा उठाएको र सेनासमेत त्यहाँ राखेको हो । भारतले साविकको काली नदीलाई कुटिङ्याङ्दी भनेर त्योभन्दा ३० किलोमिटर पूर्व कृत्रिम पोखरी, मन्दिर र खोल्सा बनाएर काली नदी भन्न र लेख्न थाल्यो ।
भारतले चीनसँगको युद्धका बेला सन् १९६२ मा कालापारिको समतल भूमिमा सेनाको क्याम्प राख्यो । भारतले त्यो भूभाग रणनीतिक र सामरिक रूपमा महत्वपूर्ण देखेपछि अतिक्रमण गरेको उनको ठहर छ । लिपु मानसरोवर जाने सजिलो र छोटो बाटो हो ।
हाम्रो कालापानी कहाँ हरायो सरकार ?
लिपुलेकलाई चीन र भारतबीच व्यापार गर्न दुईपक्षीय सडक निर्माणका निम्ति पनि सहज स्थानका रूपमा लिइएको छ । यही भएर गत २०७२ जेठ १ गते भारत र चीनबीच उक्त भूभागलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने सहमति भएको थियो ।
नेपाली भूभाग उपयोग सम्बन्धी चीन र भारतले अनुमति नलिएको भन्दै नेपाल सरकारले तत्कालै विरोध गरेको थियो । नेपालको उक्त असहमति र विरोधप्रति भारत र चीन मौन रहँदै आएका छन् ।
‘लिपु, कालापानीदेखि लिम्पियाधुरासम्मको १७२ वर्गकिलोमिटरभन्दा बढी भूभाग नेपालकै हो,’ भुसालले भने, ‘सुगौली सन्धिले कालीपारिसम्मको भूभाग नेपालको हो भनेर स्पष्ट छ ।’
नदी विज्ञानअनुसार कुन नदी मूल र कुन सहायक भन्ने कुराको टुंगो नदीको लम्बाइ, नदीले ओगटेको जलाधार क्षेत्र, पानीको मात्रा, गहिराइका आधारमा लगाइने भुसालले बताएका छन् ।
इस्ट इन्डिया कम्पनीसँग सन् १८१६ मा भएको सुगौली सन्धिका कारण नेपालले आफ्नो अधीनस्थ दुई तिहाइ भूभाग गुमाएको थियो । नेपाल सरकारले २००९ मा पूर्वाञ्चल र २०११ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । त्यतिबेला हालको दार्चुला तत्कालीन बैतडी जिल्लाअन्तर्गत थियो । बैतडीअन्तर्गतको तत्कालीन ब्यास गर्खा (दरा) मा ६ वटा गाउँ थिए ।
२०११ सालको जनगणनाले ब्यास गर्खाका ६ गाउँको घरधुरी संख्या चार सय ३४ तथा कुल जनसंख्या एक हजार आठ सय १६ देखाएको छ । २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नाबी, कुटी, तिंकर र छाँगरु गाउँको जनगणना गरिएको थियो । जनगणना अधिकृतका रूपमा खटिएका अग्रज पत्रकार भैरव रिसालले सुगौली सन्धिपछि लिम्पियाधुरा क्षेत्रका जनताले नेपालमै तिरो तिर्ने गरेको बताए ।
रिसालका अनुसार २०१८ सालसम्म लिम्पियाधुरा क्षेत्र नेपालकै अधीनमा थियो । ‘सन् १९६२ अघि यो क्षेत्र निर्विवाद थियो’, उनले भने, ‘भारत–चीन युद्धपछि मात्रै विवाद भएको हो ।’
उनले नेपाल सीमा सुरक्षा गर्न नसकेका कारण भारतले अतिक्रमण गर्न पाएको बताएका छन् । ‘कालापानीमा लगेर सुरक्षाकर्मी राखेको भए कहाँ उसले अतिक्रमण गर्न पाउँथ्यो र ? ’ उनले भने, ‘सीतापुरसम्म राखेको छ । त्यहाँ ६ महिना मात्रै सुरक्षाकर्मी बस्छन् ।’
त्यहाँ नेपाली सुरक्षा निकायको उपस्थिति नभएकै कारण त्यो भूभाग भारतले कब्जा गर्न पाएको उनको ठहर छ । ‘लिम्पियाधुरा’ पुस्तकका लेखक रतन भण्डारीले नापी विभागले सन् १९७५ यता प्रकाशन गरेको नक्सामा क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता विरोधी र त्रुटिपूर्ण भएका कारण भारतले नेपाली भूमि अतिक्रमण गर्न पाएको बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्