प्रधानमन्त्रीले किन फेर्न लागे सचिवालय टिम ?
काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् । त्यसका लागि उनले सचिवालयका सबैलाई राजीनामा गर्न भनेका छन् ।
‘आफ्नो कामको सहजताका लागि सचिवालयमा रहेकाहरूले छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्री ओलीले प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका थिए । रिमालले सचिवालयका सबै सदस्यको शुक्रबार बैठक गरी प्रधानमन्त्रीले बाटो सहज बनाइदिन आग्रह गरेको जानकारी गराएका थिए ।
प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीको मनसाय बमोजिम अब आ–आफ्नो अनुकूलतामा राजीनामा दिँदा सहज हुने धारणा राखेका थिए । प्रधानमन्त्रीको यस्तो सन्देश पाएपछि सचिवालयका सबैले मंसिर १ देखि लागू हुने गरी छाड्ने निष्कर्ष निकालेको स्रोतले बतायो ।
राजीनामाबारे सचिवालयका सदस्यहरूले भने औपचारिक रूपमा बोलेका छैनन् । यसबारे जिज्ञासा राख्दा प्रमुख सल्लाहकार रिमालले ‘आफूलाई यो विषयमा जानकारी नभएको’ बताए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि त्यस्तै जवाफ दिए । ‘यो विषयमा मलाई जानकारी छैन,’ अर्यालले भने ।
प्रधानमन्त्रीले नयाँ टिममा पनि अहिलेकै केहीलाई समावेश गर्ने सम्भावना छ । प्रधानमन्त्री सचिवालयको प्रमुख सल्लाहकारमा रिमाल, परराष्ट्र सल्लाहकार भट्टराई, प्रेस सल्लाहकार अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य लगायत छन् । नयाँ बन्ने टिममा अहिलेकामध्ये बज्राचार्य दोहोरिने सम्भावना छ । उनी प्रधानमन्त्रीको निजी भेटघाटदेखि उपचार र औषधिहरूको मात्रा मिलाएर खुवाउनेसम्मको काममा सहयोगी भूमिकामा छन् ।
प्रमुख सल्लाहकार रिमालले पहिलो प्रधानमन्त्रीकालदेखि नै ओलीसँग निकट भएर काम गरेका थिए । तर उनको कार्यशैलीका कारण पार्टीभित्रकै नेतादेखि बाहिरसम्मै प्रधानमन्त्रीको आलोचना हुने गरेको छ । त्यसैले उनलाई दोर्होयाउनेभन्दा कुनै अर्को नियुक्ति दिइने सम्भावना रहेको स्रोतको दाबी छ ।
केही मन्त्रीको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री असन्तुष्ट छन् । प्रधानमन्त्री निकट एक नेताका अनुसार सचिवालय सदस्यहरूको हेरफेरपछि ओलीले त्यस्ता मन्त्रीलाई हटाउने छन् । पछिल्लो एक सातायता प्रधानमन्त्रीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको सघन छलफलमा सरकारलाई नयाँ गति दिन सचिवालयदेखि मन्त्रिपरिषद्सम्मै हेरफेरको चाहना राखेको स्रोतले जनायो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्