सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

डोजर लखेट्दै, सिटी फुक्दै ठकुरी गाउँबासी

काभ्रेको बनेपा नगरपालिका–९ ठकुरी गाउँका स्थानीय अहिले आन्दोलनमा छन् । सोमबार उनीहरूले सिठी जुलुस निकाले । सिठी फुक्दै स्थानीयवासी नगरपालिका कार्यालयसम्म आए ।

एक साताअघि ठकुरी गाउँको एक भिडिओको सामाजिक सञ्जालमा चर्चा थियो । उक्त भिडिओमा स्थानीय बासिन्दाले डोजर लखेटेको थियो । नगरपालिकाको फोहोर फाल्न आफ्नो गाउँमा ल्याएपछि ठकुरी गाउँका स्थानीय आन्दोलित भएका हुन् ।

अहिले नगरपालिकाको फोहोर भक्तपुर, काठमाडौं हुँदै नुवाकोटको सिसडोलमा र्पुयाउनुपर्छ । ६२ किलोमिटर टाढाको सिसडोलमा फोहोर र्पुयाउँदा नगरपालिकाको दैनिक ६० हजार रूपैयाँ खर्च हुन्छ । बाँकी व्यवस्थापकीय झन्झट त छँदैछ ।

यसअघि बनेपाको फोहोर आइटी पार्कनजिकै व्यवस्थापन गरिन्थ्यो । बस्ती बाक्लिएपछि फोहोर फाल्न दिइएन । त्यसपछि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने नयाँ ठाउँ खोज्यो ।

तर ठकुरी गाउँका स्थानीयले नगरपालिकाले घर नजिकै दुर्गन्धित फोहोर जलाउन लागेको भन्दै विरोध गरे । प्रहरी र आन्दोलनकारीबीच झडप भयो, अश्रृग्यास हानियो । स्थानीयले डोजरलाई ढुंगा हान्दै लखेटे ।

Dozer Todphod in Banepa

मेयर लक्ष्मीनरसिंह बादेका अनुसार फोहोर व्यवस्थापनका लागि जापानी प्रविधिमा आधारित रहेको इन्सिनेटर मेसिन राख्ने तयारी छ । ‘यो मेसिन राखे कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न सकिन्छ,’ बादेले भने, ‘फोहोर व्यवस्थापन गर्दा धुवाँधुलो, गन्ध केही निस्कँदैन । यो प्रविधि डब्लुएचओले नै प्रमाणित गरेको हो ।’

वातावरण प्रदुषण नहुने मेसिन ल्याएको बताए पनि नगरले फोहोर व्यवस्थापनको कार्यलाई अघि बढाउन भने सकेको छैन । नगरपालिकाको फोहोर व्यवस्थापनबारे सर्वसाधारणमात्र होइन वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर सुवाललाई पनि शंका छ ।

त्यही भएर वडाध्यक्ष सुवालसहितले सोमबार डोजर लखेटेका हुन् । यसअघि कात्तिक ४ गते पनि मेसिन राख्ने जमीन सम्याउन खोज्दा विवाद भयो । मेसिन वातावरणमैत्री नहुने स्थानीयको भनाइ छ ।

आन्दोलनलाई साथ दिएका नेपाली कांग्रेसका नेता कञ्चन बादे श्रेष्ठ आफूहरूले फोहोर व्यवस्थापनमा भाँझो हाल्ने काम नगरेको दाबी गर्छन् । ‘हामी विकास विरोधी होइनौं,’ बादेले भने,‘फोहोर व्यवस्थापनका लागि राखिने मेसिन वातावरणमैत्री छैन भन्ने छ । फोहोर जलाउँदा मानव स्वास्थ्यलाई असर गर्छ । असर गर्दैन भन्ने प्रमाणित हुन्छ भने राख्न दिन्छौं ।’

स्थानीय बासिन्दासँग समन्वय नगरी फोहोर व्यवस्थापनको काम नगरपालिकाले सुरू गर्न खोज्दा समस्या आइपरेको उनले बताए । बनेपामा दिनहुँ ६ टन फोहोर संकलन हुन्छ । प्रतिघन्टा चार किलोग्राम मात्रै फोहोर व्यवस्थापन गर्ने मेसिनले दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न नसक्ने बादे तर्क गर्छन् ।

‘नगरपालिकाले फोहोर व्यवस्थापनका लागि छुट्टै जग्गा किनेको छ । किन कृषि प्रयोजनका लागि किनेको जग्गामा फोहोर व्यवस्थापन गर्नु पर्यो ?’ उनले प्रश्न गरे । नगरपालिकाले विकल्पमा अन्य ठाउँ पहिचान गरे पनि बजेट धेरै लाग्ने मेयर बादे बताउँछन् ।

‘वडा नम्बर १४ साँगा नजिक चतुरेमा फोहोर व्यवस्थापन गर्न खोजेका थियौं, सडक खन्न नै २५÷३० करोड रूपैयाँ लाग्ने भएपछि पछि हट्यौं,’ उनले भने, ‘तत्कालका लागि ठकुरी गाउँ नै उपयुक्त छ ।’ कृषि प्रयोजनका लागि जग्गा किनिएको भए पनि नगरभित्रको जग्गा नगरको आवश्यकताअनुसार नै प्रयोग गर्न सकिने उनले बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS