भारतको अर्को झेल, नक्सामा काली नदी गायव
अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ ।
सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संकरणको नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको थियो ।
त्यही नक्साका कारण नेपपालमा आन्दोलन चर्किएको छ । नेपाल सरकारले पनि भारतीय नक्सा अस्वीकार्य मात्र भनेन, अतिक्रमित भूमिबाट सेना फिर्ता लैजान आग्रह गरेको छ । त्यसको केही दिनपछि भारतले काली नदी लुकाउनकै लागि नवौं संस्करण निकालेको हो ।
विभिन्न सन्धि सम्झौता र उपलब्ध प्रमाणहरू हेर्दा नेपाल र भारतबीचको सिमाना पार्वतीकुण्ड मुहान भएको त्यही कालीनदी हो । १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार कालीनदी नै नेपाल र भारतबीचको सिमाना हो ।
जसअनुसार कालीनदी वारीका नावी, गुन्जी र गब्र्याङ गाउँ नेपालमा पर्छ । त्यस क्षेत्रका जनतालाई नेपालमै कर तिर्नु भनेर गढवाल कार्यालयले पत्र नै लेखेको थियो । वि.स. २०१८ सालमा माथि उल्लेखित तीन वटै गाउँमा नेपालले जनगणना गरेको थियो । यसले पनि कालीनदी नै सिमाना हो भन्ने देखाउँछ ।
नेपाल सरकार, परराष्ट मन्त्रालयले पत्रचार गर्दा पनि वास्तविक कालीनदीलाई नै सिमानाको रुपमा उल्लेख गर्दै आएको छ । तर कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको उसले लामो समयसम्म आफ्नो नक्सामा काली नदीलाई देखाएको थिएन ।
भारतले आफ्नो राजनीतिक नक्साको आठौं संस्करणमा आइपुग्दा पहिलो पटक वास्तविक कालीनदीलाई स्विकार गरेको थियो । सर्वे अफ इन्डियाले सार्वजनिक गरेको आठौं संस्करणको नक्सामा कालीनदी स्विकारे पनि भारतको भूभागभित्र देखाइएको थियो । तर सुगौली सन्धिलगायतका प्रमाणहरूले त्यही नदीलाई मुहान मानेको छ ।
सुगौली सन्धिको दुईसय वर्षमा भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा मात्रै ३७२ वर्गकिलोमिटर भूभाग अतिक्रमण गरेको छ । त्यही अतिक्रिमणलाई निरन्तरता दिन उसले काली गायब पारेको जानकारहरू बताउँछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्