भारतले गाउँको बिचमा सिमा स्तम्भ गाड्यो
झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित बघनचौधरी बजारबाट करिब १ किमी पूर्व लागेपछि कमल खोलाको किनारमै सन्थालहरुको सानो बस्ति पिण्डालघुटु पुगिन्छ । यो नेपाली बस्ती हो । यस बस्तिका सबै परिवार नेपाली नागरिक हुन् । तर यस बस्तिलाई मिचेर ५५ साल ताका भारतले पूर्वको सीमाना मिचेर सीमा स्तम्भ गाउँको बिचैमा गाडेको छ ।
२०७४ सालमा अबिरल बर्षाका कारण कमल खोलाले यो बस्तिलाई डुवाएको बेला हामी राहत लिएर जाँदा त्यस बेला यो सीमा स्तम्भ सानो थियो । त्यस बेला यो स्तम्भमा हामी कसैका आँखा परेन । तर अहिले भारतीय पक्षले सीमा स्तम्भलाइ ठुलो बनाएर स्थानीय बुद्धिलाल हेमरमको आँगन अगाडि नै गाडेको छ ।
पिण्डालछुटु गाउँबाट कमल खोला तरेर अझ करिब १ किलो मिटर पूर्व लागे बल्ल सन १९७९ मा कायम गरिएको २६ नम्बरको जङ्गे पिलर देख्न सकिन्छ । अहिले यो पिलर देखि निकै पश्चिम सीमा सारिएको छ । २०५५ सालअघिसम्म कमल खोलाको पूर्बी किनारबाट शुरु हुने नेपाल भारतको सीमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पुर्याइएको छ ।
२०५५ साल अघिसम्म नेपाल भारतको सीमा नजिकै रहेको बलुवाडाँगी गाँउमा साप्ताहिक हाट लाग्ने गथ्र्यो । पछि त्यहि हाटको बिषयमा नेपाल र भारत पक्षका स्थानीयहरु बीच बिबाद शुरु भएपछि भारत पक्षले सो सीमाना पश्चिम सारेको कुरा कोरोबारीका स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य जेठा मुर्मु बताउँछन् ।
बिबादपछि सोहि साल नेपाल र भारतीय पक्षले सीमा नापजोख गरेको तर पछि भारतीय पक्षले झुक्याएर सीमाना पश्चिम सारेको स्थानीय ओम प्रकास राजवंशी बताउछन् ।
नेपाली भुभाग मिचेर सीमा पश्चिम सार्दा समेत चित्त नबुझेका भारतीयहरुले अहिले उनीहरुले आफै कायम गरेका नयाँ सीमा स्तम्भ वरिपरि समेत दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् ।
साबिकको आमगाँछी ४ को खेल मैदान पूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकै खेति गरिरहेका छन् । सीमासँग जोडिएको नेपाली भुमिमा बिकास निर्माणको काम गर्दा समेत भारतीय पक्षले दुख दिने गरेको स्थानीय ओम प्रकाश राजवंशी बताउछन् ।
भारतीय पक्षबाट सीमा पश्चिम सारिए पछि अहिले आमगाँछीका करिब १ दर्जन नेपालीको पचासौँ बिघा जमिन भारतीयको कब्जामा छ । स्थानीय ओम प्रकाश राजवंशीका अनुसार कृष्ण प्रसाद राजवंशी ,योगेन्द्र राजवंशी कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओम प्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशी लगायतको जग्गा भारतीयको कब्जमा छ ।
यी ब्यक्तीहरुको जग्गा भारतीय भुमीमा परे पनि अझै यिनिहरुसँग सो जग्गाको नेपाली धनिपुर्जा सुरक्षित छ । जग्गाको मालपोत समेत बर्षेनी नेपाल सरकारलाई तिरि रहेको उनीहरुले जानकारी दिएका छन् ।
गौरीगञ्ज–२ का वडाध्यक्ष अघनु प्रसाद राजवंशीका अनुसार कोरोबारीको पिण्डालघुटु र आमगाछी क्षेत्रका ४ देखि ५ सय बिघा क्षेत्रफल भारतले अतिक्रमण गरेको छ । सम्बन्धित निकायमा यसबारे जानकारी गराउँदा समेत नेपाल सरकारले सो भुमी फिर्ता गराउन कुनै पहल नगरेको उनको गुनासो छ ।
पश्चिम नेपालमा अतिक्रमित कालापानी र लिपुलेक फिर्ता गराउन देशब्यापी रुपमा आवाज उठिरहेको बेला पूर्वी नेपालको झापा जिल्लाका यी भुभागहरु फिर्ता ल्याउन पनि उतिकै बलियो आवाज उठाउन जरुरी देखिन्छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्