सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो ।

अस्पतालका निर्देशक डा. अरुण सायमीले भनेका छन्–‘एपेन्डिसाइटिसको सानो अपरेसन भर्खरै सकिएको छ ।’ अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने छ । तर, कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले एकिनका साथ बताएका छैनन् ।

प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारसमेत रहेका डा. सायमीले भने, ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, अहिल्यै भन्न सकिँदैन ।’ पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अपरेशन गरेका हुन् ।

KP Sharma Oli

अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् । १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले केही दिनयता चार पटकसम्म डायलासिस गराइसकेका छन् । पछिल्लोपटक प्रधानमन्त्रीको स्वास्थ्यमा पटकपटक समस्या देखिँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्