सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।

सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका–२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

Arghakhachi Accident

यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५÷६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

घाइतेहरुको चौराहा अस्पताल बुटवल, भैरहवा मेडिकल कलेज र ललितपुरमा उपचार भइरहेको छ । चौराहा अस्पताल बुटवलमा उपचाररत ६ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सन्धिखर्क नगरपालिका–२ की अमृता पौडेलको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । अन्य घाइतेको अवस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यसैगरी भैरहवा मेडिकल कलेजमा उपचाररत ९ घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था भने सुधारोन्मुख छ । गम्भीर हुनेहरुमा अर्घाखाँचीको पाणिनी नगरपालिका ७ का कृष्ण विक, सोही स्थानका विष्णु विक, सन्धिखर्क नगरपालिका ८ का कमल मुखिया र सन्धिखर्क नगरपालिका ४ की सरस्वती भट्टराई छन् ।

यस्तै दाङको राप्ती गाउँपालिकाका–९ का ३३ वर्षीय प्रशान्त सुवेदीको अवस्था पनि गम्भीर छ । टाउकोमा चोट लागेका उनलाई लुम्बिनी सिटी अस्पतालबाट रिफर गरेर ललितपुरको बीएण्डबी अस्पतालमा पठाइएको छ । दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । चालकले एक्कासी जोडले ब्रेक लगाउँदा बस अनियन्त्रित भइ भीरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्