सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्वर्ण जित्नेलाई ९ लाख, ओलीको प्रसंशनिय काम

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।

१३औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।

यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए । टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ ।

Kp Oli with Gold Medalist

स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेले ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन ।

नेपालले महिला भलिबल, कबड्डी लगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ । साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

प्रधानमन्त्री ओलीले भनेका छन्–‘यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ । ‘हाम्रो जस्तो गरिव देशको सरकारले उचित सम्मान र्गयो भन्ने लाग्छ ।’ प्रधानमन्त्रीले पुरस्कार घोषणा गर्दा हलमा सहभागीहरुले हुटिङसहित ताली बजाएका थिए ।

उनले १३ औं सागमा नेपालका खेलाडीले उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि अझ बढि पदक ल्याउने प्रयासमा लाग्न खेलाडीहरुलाई सुझाव दिए । उनले भनेका छन्–‘पहिला हामीसँग ५० वटा खेल खेल्ने हैसियत पनि थिएन । अहिले ५१ वटा त स्वर्ण पदक नै जितेका छौ । २०६ वटा खेलमा सहभागी हुने हैसियत थिएन । अहिले २०६ वटै पदक प्राप्त गरिसकेका छौ ।’

Kp Oli with Gold Medalist

प्रधानमन्त्री ओलीले यो प्रगतिलाई असाधारण प्रगति भन्दै यसमा सवै खुसी हुनुपर्ने र सिंगो देश नै खुसी रहेको पनि बताए । विगतमा एकमात्र अन्तराष्ट्रिय खेल प्रतियोगिता हुने रंगशाला रहेकोमा यसपटक तीन ठाउँका ठुला रंगशालाबाट अन्तराष्ट्रिय स्तरका प्रतियोगिता गराउन सफल भएकोमा उनले सरकारको सफलतासँग जोडे । सरकारले खेल क्षेत्रलाई विशेष ध्यान दिएको भन्दै सातवटै प्रदेशमा नयाँ र भव्य रंगशाला बन्दै गर्नुलाई प्रगतिको संकेतका रुपमा लिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले अगाडी भने–‘गौरिका एक्लैले चारवटा स्वर्ण जितेर नेपालको गौरव बढाएकी छन् । आधा आकासले पनि हरेक काम गर्न सक्छ भन्ने उनले प्रमाणित गरेकी छन् ।’ मण्डेकाजी श्रेष्ठ, सुवास तामाङ, आयसा शाक्यलाई पनि डबल स्वर्णपदक प्राप्त गरेको भन्दै प्रधानमन्त्रीले कठिनाइसँग जुध्न सक्ने खेलाडीको प्रशंसा गर्न चाहेको पनि बताएका छन् ।

ठट्यौली शैलीमा प्रधानमन्त्रीले भने–‘अलिकतिले कहिलेकाहीँ स्वर्ण चिप्लिन्छ । रजतमा चित्त बुझाउनुपर्छ । तर रजत केही उत्कृष्ट विना प्राप्त गर्ने होइन, यो स्वर्ण आसपासकै हो । रजत पदक प्राप्त गर्नेलाई बधाई ।’

प्रधानमन्त्रीको हौसला दिँदै भने–‘कास्य पदक स्वर्ण पदक जस्तै हो । मात्रै दुईजना बढ्ता जान्ने भएर निस्के । ती दुइवटालाई हराइदिन पाएको भए हुन्थ्यो । अर्को पटक दुईवटालाई मौका दिने छैनौं । रजतले पनि एउटालाई पराजित गर्न कसो नसकिएला ?’

फेसबुकबाट कमेन्ट गर्नुहोस्