जापानी पत्रकारले जितिन बलात्कारबिरुद्धको मुद्दा
जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकार विरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् ।
सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन् । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन् ।
उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले यामागुचीबाट ३३ लाख जापानी येन (३४ लाख २७ हजार रुपैयाँ) क्षतिपूर्ति भराउने फैसला गरेको छ । पितृसत्तात्मक जापानी समाजमा यौन दुव्र्यवहारबारे निकै कम महिलाले मात्र उजुरी दिने गर्छन् ।
यस्तो अवस्थामा मुद्दा हालेकी इतो पछिल्लो समय चलेको मीटू अभियानकी जापानी प्रतीक बनेकी छन् । ‘म निकै खुसी छु,’ मुद्दाको फैसला आएपछि इतोले भनिन् । उनले ‘जित’ लेखेको ब्यानर समातेकी थिइन् ।
टोकियो ब्रोडकास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले सन् २०१५ मा त्यतिबेला समाचार संस्था रोयटर्स इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए ।
समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी र्गयो । यामागुचीले सहमतिमै शारिरीक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हाले ।
त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन् । अदालतले यामागुचीलाई दोषी ठहर गर्दै क्षतिपूर्ति तिराउने फैसला त गरेको छ तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा बाँकी रहने छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्