कोरोनाभाइरसबारे फैलिएका अफबाह र सत्यता
कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोना भाईरसबाट अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा संक्रमण भएको पाइएको छ ।
भाईरसबाट चीनबाहिर फिलिपिन्समा एक र हङ्कङमा एक जनाको मृत्यु भएको छ । तर चीन र अन्य देशमा भाइरस मात्र फैलिएको छैन, धेरै गलत सूचना पनि फैलिएको छ ।
महामारी सुरु भएपछि धेरै अफवाह फैलिएको छ । सुरुदेखि नै अनलाइनमा मानिसहरूले कोरोनाभाइरसको उत्पत्तिबारे विभिन्न अडकल गर्न थाले । महामारी फैलिएका बेला चमेरोको मासुको झोल खाएको भिडिओले त्यस्तो अनुमानलाई झन् प्रोत्साहन दियो ।
एउटा भिडिओमा क्यामरामा एक चिनियाँ महिलाले चमेरोको मासु ‘कुखुराको मासुजस्तो स्वादिलो’ भनेर टिप्पणी गरेको सुनिन्छ । त्यस्ता भिडिओले अनलाइनमा आक्रोशपूर्ण प्रतिक्रियाहरू निम्त्याए ।
कतिपय प्रयोगकर्ताहरूले भाइरसको प्रकोप फैलिनुमा चिनियाँहरूको यस्तै खानपानसम्बन्धी व्यवहार भएको आरोप लगाएका छन् । तर न त्यो भिडिओ वुहानमा खिचिएको थियो न त चीनकै अन्य भागमा नै ।
सन् २०१६ मा चर्चित ब्लगर एवं यात्रा कार्यक्रम प्रस्तोत्री मेङ्युन वाङले पश्चिमी प्रशान्त सागरको पलाउ टापुको भ्रमणका बेला त्यो भिडिओ खिचेकी थिइन् । अनलाइनमा त्यसरी फैलिएपछि उनले क्षमायाचना गर्दै भनिन्–“मैले खालि स्थानीय मानिसहरूको जीवनशैली देखाउन खोजेकी थिएँ ।’
उनले चमेरोले भाइरस बोक्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताइन् । अहिले उक्त भिडिओ अनलाइनबाट हटाइएको छ । नयाँ कोरोनाभाइरस गैरकानुनी रूपमा व्यापार गरिने वन्यजन्तुमार्फत् वुहानको समुद्री खाद्यपदार्थ बजारबाट फैलिएको अनुमान गरिएको छ ।
चमेरो पनि भाइरसको सम्भावित स्रोत भएको चीनमा गरिएको एउटा अध्ययनले देखाएको छ । तर त्यो त्यहाँ सहजै पाइने परिकार भने होइन । त्यसैले वास्तविकता पहिचान गर्ने काम अझै जारी छ ।
कोरोना भाईरसको संक्रमण फैलिएसँगै खासगरी अमेरिकामा थुप्रै प्याटन्टसम्बन्धी कागजपत्र फेसबुक र ट्विटरमा सार्वजनिक हुन थाले । तिनले विज्ञहरूलाई उक्त भाइरसबारे वर्षौँदेखि जानकारी भएको सङ्केत गर्थे । त्यस्तो आशङ्कापूर्ण धारणा सार्वजनिक गर्ने प्रारम्भिक व्यक्तिमध्ये युट्युबर जोर्डन साथर हुन् ।
हजारौँ पटक रिट्वीट गरिएका उनका शृङ्खलाबद्ध ट्वीटमा साथरले सन् २०१५ को एउटा प्याटेन्टबारे लेखेका छन् । इङ्ग्ल्यान्डस्थित पब्राईट इन्स्टिट्यूट इन सरीले दर्ता गराएको उक्त प्याटन्टमा एउटा कमजोर खालको कोरोनाभाइरसको विकास गरेर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गर्न सकिने उल्लेख छ ।
उक्त प्याटन्टको लिङ्क फेसबुकमा खोपविरोधी र कपट भएको मान्यता राख्ने व्यक्तिका ग्रुपबाट व्यापक रूपमा प्रसारित भयो । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले पब्राईट र खोप विकासका लागि आर्थिक सहायता गर्ने गरेको तथ्य प्रस्तुत गर्दै साथरले अहिले जानीजानी महामारी फैलाइएको र खोप विकासका लागि पैसा जुटाउनु त्यसको उद्देश्य भएको दाबी गरेका छन् ।
उनले ट्वीटमा भनेका छन् । ‘गेट्स फाउन्डेशनले अहिलेसम्म खोप विकासका लागि कति पैसा दियो ? के यो रोग फैलिने काम योजनाबद्ध थियो ? के यसको त्रास फैलाउन सञ्चारमाध्यमहरू प्रयोग भइरहेका हुन् ?’ तर पर्ब्राईटको प्याटन्ट नयाँ कोरोनाभाइरसबारे होइन । यो बरु व्यापक कोरोनाभाइरस समूहकै एउटा सदस्य एभीअन इन्फेक्शस ब्रोङ्काईटिस भाइरसको हो ।
गेट्स फाउन्डेशनकी एक प्रवक्ताले बज्फीड न्यूजसँग पर्ब्राईट इन्स्टिट्यूटलाई उक्त भाइरसको अध्ययनमा आफूहरूले आर्थिक सहयोग उपलब्ध नगराएको बताएकी छन् ।
इन्टरनेटमा अर्को आधारहीन दाबी फैलिएको छ । अहिले फैलिएको कोरोनाभाइरस चीनको एउटा गोप्य जैविक अस्त्र कार्यक्रमअन्तर्गत बनाइएको थियो र वुहान भाइरोलजी इन्स्टिट्यूटबाट चुहिएको हुन सक्छ ।
त्यस्तो दाबी गर्दा धेरैले इजरायलका एक पूर्वगुप्तचर अधिकारीको भनाइ उद्धृत गरिएको वाशिङ्टन टाइम्सका दुईवटा लेखलाई आधार मान्ने गरेका छन् । तर तिनमा त्यस्तो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण छैनन् । ती लेख सामाजिक सञ्जालमा लाखौँ पटक शेअर भएका छन् ।
चिनियाँ औपचारिक अनुसन्धानअनुसार वुहानको समुद्री खाद्यबजारमा त्यो भाइरस पहिलो पटक भेटिएको थियो । कोरोनाभाइरससँग सम्बन्धित अर्को अफवाहअनुसार क्यानडाको सूक्ष्मजीव विज्ञानसम्बन्धी राष्ट्रिय प्रयोगशालाका एक अनुसन्धानकर्ता निलम्बित भएपछि नयाँ भाइरस देखिएको हो ।
क्यानडाको प्रसारक सीबीएसकाअनुसार भाइरोलजिस्ट डा. सियान्गुओ चिउलाई उनका पति र केही विद्यार्थीसहित गत वर्ष चीनबाट निष्काशित गरिएको थियो । तर प्रहरीले सीबीएसलाई बताएअनुसार त्यसबाट सार्वजनिक सुरक्षाका लागि अहिले कुनै खतरा छैन ।
अर्को विवरणअनुसार डा. चिउले वुहानस्थित एक प्रयोगशाला भ्रमण पनि गरेकी थिइन् । उनीहरू चिनियाँ जासुस भएको दाबी गरिएको एउटा ट्वीट हजारौँ पटक रिट्वीट गरिएको थियो । सीबीएसले पछि ती सबै दाबीहरू आधारहीन भएको बताएको छ ।
त्यस्तै कोरोना भाईरस सम्बन्धि पोल खोलिएको दाबी गरिएको एउटा भिडिओ हुबे प्रान्तका एक चिकित्सक र नर्सले खिचेको दाबी गरिएको छ । विभिन्न सामाजिक सञ्जालका विभिन्न मञ्चमा दशौँ लाख मानिसले उक्त भिडिओ हेरेका छन् ।
तीमध्ये सबैभन्दा चर्चित भिडिओलाई एक कोरियालीले युट्युबमा हालेका छन् । त्यसमा ती महिला वुहानको एउटा अस्पतालकी एक नर्स भएको बताएको छ । तर ती महिलाले त्यसको पुष्टि गरेकी छैनन् ।
उनले सुरक्षा पोसाक पनि लगाएकी छन् । तर उनको पोसाक हुबेमा लगाइने पोसाकसँग मेल खाँदैन । उनका अनुसार चीनमा ९०,००० जनालाई नयाँ भाइरस सङ्क्रमण भइसकेको छ । तर आधिकारिक तथ्याङ्कअनुसार चीनमा २०,००० जनामा त्यो सङ्क्रमण देखिएको छ ।
चाइनाफाइल अनलाइनका दृश्य सम्पादक मुयी सियाओका अनुसार ती महिला वुहानकी होइनन् । त्यो भिडिओको सत्यतालाई लिएर आशङ्का व्यक्त भएको छ ।
(बीबीसी नेपाली सेवाको अनलाई संस्करणबाट साभार गरिएको)
फेसबुकबाट कमेन्ट गर्नुहोस्