सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानी क्रुजका १० जनामा कोरोना भाईरस

टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजका १० जना यात्रुमा कोरोना भाइरस देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको हो ।

२ सय ७३ जनाभन्दा बढीको स्याम्पल जम्मा गरिएको छ । उनीहरुको रिपोर्ट आएपछि मात्रै अरू यात्रुमा संक्रमण भएको छ छैन भन्नेबारे थाहा हुने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यात्रु र चालकदलका सदस्यसहित क्रुजमा ३ हजार ७ सय व्यक्ति रहेको बताइएको छ । क्रुजमा रहेका सबै व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उनीहरुलाई क्याबिनभित्रै बस्न भनिएको छ ।

Diamond Ship

जापानी न्युज एजेन्सी क्योदोका अनुसार जापान सरकारले जहाजमा रहेका ५६ देशका यात्रुलाई कम्तीमा पनि दुई हप्ता क्रुजमै राख्नेछ । क्रुजमा थप खानेकुरा र अन्य सामग्री पठाउन लागिएको जापानी अधिकारीले जानकारी दिएका छन् ।

जापानी अधिकारीहरुका अनुसार गत महिना कोरोना भाइरस पोजिटिभ देखिएका हङकङका एक यात्रु क्रुजमा भएका कारण संक्रमण फैलिएको आशंका गरिएको छ । मध्य जनवरीमा हङकङबाट टोकियो आइपुगेका ती व्यक्ति जनवरी २० योकोहामाबाट क्रुजमा चढेको र जनवरी २५ मा हङकङ उत्रिएको बताइएको छ ।

जापानी सञ्चार माध्यम एनएचकेका अनुसार १० जना बाहेक कसैमा पनि ज्वरो र अन्य लक्षणहरु देखिएको छैन । कोरोना भाइरस पोजिटिभ देखिएकालाई कानागावामा रहेको अस्पताल लगिएको छ ।

जापानमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनको हुबेईबाट सुरु भएको कोरोना भाइरसका कारण बुधबार बिहानसम्म ४९२ जनाको मृत्यु भएको छ ।

त्यसमध्ये चीनमा ४९० जना, हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको हो । त्यस्तै चीनसहित विश्वका २५ भन्दा मुलुकका २४ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको आधिकारिक आँकडा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्