जापानमा कोरोना भाइरसको औषधी परिक्षण
कोरोना भाइरसको महामारी फैलिरहेकै बेला जापानले कोरोना संक्रमितको उपचारका लागी नयाँ औषधी परिक्षण गर्न सुरु गरेको छ । जापानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुमा नयाँ औषधीको परिक्षण गर्न सुरु गरिएको पुष्टि गरेको हो ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार भाईरल प्रतिरोधी औषधीसहित एचआईभी एड्सको औषधीबाट कोरोनाबाट संक्रमित बिरामीहरुको परिक्षण उपचार गर्न सुरु गरिएको हो । यसअघि थाइल्याण्ड लगायत केही देशका चिकित्सकहरुले एचआईभि एड्स बिरुद्धको औषधि प्रयोगबाट बिकास गरिएको नयाँ औषधिले कोरोना संक्रमित बिरामीहरुमा सुधार आएको दाबी गरेका थिए ।
जापानको नेशनल सेन्टर फर ग्लोबल हेल्थ एण्ड मेडिसिन टोक्योका चिकित्सक र विज्ञ अनुसन्धानकर्ताहरुको टोलीले औषधि परिक्षणको सुरुवात गरेका हुन् । गत महिना कोरोना संक्रमितहरुलाई त्यस्तो औषधि दिईँदा स्वास्थ्यमा सुधार आएको भएपनि औषधिले रोग प्रतिरोधको लागी काम गर्नेमा अँझै विश्वस्त आधार फेला नपरेको चिकित्सकहरुले बताएका छन् ।
नयाँ औषधिले संक्रमित बिरामीको स्वास्थ्यमा कति सुधार गर्छ भनेर विश्वस्त हुन थप संक्रमितमा औषधिको परिक्षण गरिने बताइएको छ । जापानमा हालसम्म कोरोना संक्रमणका कारण १ जनाको निधन भइसकेको छ । चीनमा पनि १ जना जापानी नागरिकको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो जानकारी अनुसार हालसम्म जापानमा ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित बिरामिहरुमध्ये १६ जनाको अवस्था गम्भिर रहेको जापानी सञ्चार माध्यममा समाचार प्रकासित भएको छ । गम्भिर विरामी मध्ये १२ जनाको अवस्था सिकिस्त रहेको बताइएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका करिब ३ दर्जन बढी देशहरुमा देखा परिसकेको छ । हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगभग १६ सय पुगिसकेको छ । शनिवारसम्मको तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय नाघेको थियो ।
कोरोनाको महामारी रोक्न विश्वभरका वैज्ञानिकहरु औषधी पत्ता लगाउन लागिपरेका छन् तर अहिलेसम्म कोरोना निको पार्ने औषधी ठ्याक्कै पत्ता लाग्न सकेको छैन । जापान जस्तै केही देशरुले परिक्षण रुपमा औषधी प्रयोग गरिरहेको भएपनि औषधी पुर्ण रुपमा प्रमाणित भईसकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्