कोरोना रोक्न चीनमा घरबाहिर जान प्रतिबन्ध
कोरोना भाइरसविरुद्ध जारी लडाईँको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । कोरोनाको आक्रमणलाई रोक्न चीनले ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट बाहिर निस्कन निर्देशन दिएको छ ।
यसबाहेक निजी कारको प्रयोगमा अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै हूबे र ऊहान शहर प्रभावित भएका छन् । जसमा अहिलेसम्म १६ सय ६५ जनाको ज्यान गएको चीनले बताएको छ । यद्यपि, चीनले लगातार तेस्रो दिन कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको र यो फैलन रोकिएको घोषणा गरेको छ ।
चीनले सबैलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ । साथै एउटा घरबाट तीन दिनमा एक व्यक्तिलाई मात्रै खाना र अन्य अत्यावश्क सामान लिन जान छुट दिइएको छ ।
यस्तै, औषधी, होटल, किराना पसल र स्वास्थ्य सेवाबाहेकका सबै पसल बन्द गर्न आदेश दिइएको छ । सामान र्पुयाउनेबाहेक सबै प्रकारको सवारीसाधनमा प्रतिबन्ध लगाइएको छ ।
राजधानी बेइजिङमा आउने व्यक्तिलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा एकान्तमा बस्न भनिएको छ । यस्तो नगरे सजायको प्रावधान पनि छ । चीनको केन्द्रीय बैंकले भाइरस फैलन रोक्नका लागि प्रयोग गरिएका नोटलाई कीटाणुरहित गर्ने निर्णय गरेको छ ।
प्रशासनले दिएको जानकारी अनुसार आइतबार २ हजार नयाँ संक्रमित पुष्टि भएका छन् । जुन शनिबार २६ सय ४१ थिए । यसअघि ५ हजार ९० नयाँ संक्रमित देखिएका थिए । चीनमा अहिलेसम्म ६८ हजार ५ सय व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
नयाँ संक्रमितमा आइरहेको कमीमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले यो आँकडाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने चीनको कोसिसलाई दर्साउने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्