सञ्चारमन्त्रीको ७० करोड घुसकाण्डको अडियो
केही दिन अभि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको खुबै चर्चा गरे । सरकारका सारा मन्त्री एकातिर र सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई एकातिर राख्दा पनि गोकुल बाँस्कोटा भारी पर्ने भन्दै प्रधानमन्त्रीले बाँस्कोटाको बखान गाएका थिए ।
तर उनै सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७४ करोड कमिसनका लागि सेटिङ गरेको अडियो प्रमाण सार्बजनिक भएको छ ।
स्वीस कम्पनीसंग गरिएको सम्झौता जर्मन कम्पनीसंग गर्ने निर्णय लेखा समितिले गरेपछी स्वीस कम्पनीको नेपाली एजेन्ट जिजयप्रकाश मिश्र शर्माको टोलिले मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो बिभिन्न मिडियामा सार्बजनिक गरिदिएको हो ।
स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने भन्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ ।
७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए ।
सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद र भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिने घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ ।
प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरि घटनाहरु सार्वजनिक भइरहेका छन् । यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बास्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिएको झै उन्मुक्ति दिन्छनकी कार्वाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ ।
यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए । उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । त्यही अडियो क्लिप यतिबेला सञ्चारमाध्यममा भाइरल बनिरहेको छ ।
स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए ।
जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए ।
तत्कालीन समयमा प्रधानमन्त्री ओलीले ‘हाम्रो नै पैसा लगेर हामीलाई नै घुस दिने ? यो हुनै सक्दैन,’ भन्दै जर्मन कम्पनीलाई पनि ठेक्का नदिने बताएका थिए । तर बिहिबार (फागुन ८ गते) लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप सार्वजनिक गराएको थियो ।
अहिले नेपालमै इ–पासपोर्ट छपाई गर्ने भन्दै त्यसका लागि सेक्युरिटी प्रेसको स्थापना गर्न लागिएको थियो । त्यसका लागि सरकारले तयारी पनि थालेको थियो । यसै सम्बन्धमा स्वीस कम्पनीले सेक्युरिटी प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात् करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो ।
स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो ।
अहिले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाउने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीले भने करिब ४० अर्बमा बनाउन लागेको थियो । ३७ अर्ब रुपैयाँ सेक्युरिटी प्रेसको सामान तथा सुरक्षा उपाय र करिब ३ अर्ब रुपैयाँ बिल्डिङका लागि खर्च गर्ने भनिएको थियो ।
आफूले ठेक्का नपाउने स्थिति आएपछि मिश्रले उक्त अडियो बुधबार साँझ विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराएका थिए । मिश्रले उक्त रकम घुस नभएर कमिशन भएको र त्यो नियमसंगत तरिकाबाट आउने भन्दै कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताएका छन् ।
उनले भनेका छन्, ‘मन्त्रीलाई त्यति रकमले पनि नपुगेपछि अर्को कम्पनी खोज्न थालियो । र, जर्मन कम्पनीले ४० अर्बको १२ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेपछि हामीले उक्त कुराकानी बाहिर ल्याएका हौँ ।’
मिश्रले अगाडि भने, ‘आज हामीले यो अडियो बाहिर नल्याएको भए आजै लेखा समितिबाट जर्मन कम्पनीलाई ठेक्का दिने सहमति हुँदै थियो । लेखा समितिका मान्छेहरुले पनि कमिशन खाने गरी सेटिङ गरिसकेका थिए । त्यसकारण हामीले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेका हौँ ।’
अब के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘अब यो अडियो बाहिर आएपछि ठेक्का के हुन्छ त भन्न सक्दिनँ, तर मन्त्रीज्यूलाई भने महङ्गो पर्छ ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्