सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सलह बिरुद्ध लड्न चिनियाँ हाँस पाकिस्तानमा

बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन सक्ने बताइएको छ । एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ ।

तर अर्का अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । लाखौँ सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिरहेका छन् ।

चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध ‘लक्षित कार्यक्रम’ तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको हो । जजीयाङ् एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ अनुसन्धानकर्ता लु लीझहीले ब्लुमबर्गसँग कुरा गर्दै हाँसहरू ‘जैविक हतियार’ रहेको बताएका छन् ।

Duck

उनका अनुसार एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ । त्यसको तुलनामा हाँसले तीन गुणाभन्दा बढी सलह खान सक्ने उनले बताए । ‘हाँसहरू समूहमा बस्न रुचाउँछन् त्यसकारण कुखुराभन्दा उनीहरूलाई व्यवस्थापन गर्न सहज हुन्छ’ उनले चिनियाँ सञ्चारमाध्यमलाई भने ।

आगामी महिना चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा हाँसहरू सहितको परीक्षण सम्पन्न हुने लुले बताएका छन् । त्यसपछि पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तका सबैभन्दा प्रभावित क्षेत्रहरूमा ती हाँसहरू पठाइने छ ।

यो विषय चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्न पुगेको छ । ‘गो डक । मलाई आशा छ कि तिमी जीवित फर्केर आउने छौँ’ ट्विटरको चिनियाँ संस्करण मानिने चिनियाँ सामाजिक सञ्जाल वेबोका एक जना प्रयोगकर्ताले लेखेका छन् ।

तर चीन पठाइने भनिएको टोलीका एकजना सदस्य चाइना एग्रिकल्चर विश्वविद्यालयका प्राध्यापकले भने सलहको समस्या रहने सुख्खा जमिन भएको स्थानमा भने हाँसको प्रयोग अनुकूल नहुन सक्ने बताएका छन् ।

‘हाँसहरू पानीमा निर्भर हुन्छन् । तर पाकिस्तानका मरुभूमिमा तापमान निकै धेरै छ,’ प्राध्यापक झाङ लोङले पाकिस्तानस्थित पत्रकारहरूलाई बताए । सन् २००० मा सलहसँग जुझ्न चीनले जजीयाङ्बाट सिन्जियाङ प्रान्तमा ३०,००० हाँस पठाएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्