कोरोना रोकथामबारे नेपाल–चीन भिडियो कन्फरेन्स
चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा अनुभव आदान प्रदान गर्न नेपाल लगायतका देशहरुसँग आज शुक्रबार भिडियो कन्फरेन्स गर्दैछ । चीनको परराष्ट्र मन्त्रालयले आयोजना गर्ने भिडियो कन्फरेन्समा दक्षिण एशियाली देशका स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
मन्त्री ज्ञवालीकाअनुसार नेपालका तर्फबाट उनीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगयतका पदाधिकारी सहभागि हुनेछन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट हुने उक्त कन्फरेन्समा नेपालले चीनसँग कोरोना नियन्त्रण तथा रोकथामका लागि चीनको अनुभव तथा आवश्यक सहयोगका बारेमा कुराकानी गर्नेछ ।
चीनको ऊहानबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय चीनमा नियन्त्रण हुँदै गइरहेका बेला युरोप र अमेरिका लगायतका देशमा फैलँदो अवस्थामा छ । अहिले नेपालमा भने कोरोना संक्रमित भेटिएका छैनन् ।
यसअघि चीनले कोरोना नियन्त्रणका लागि नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको थियो । गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा सार्क राष्ट्रका प्रतिनिधिबीच कोरोना नियन्त्रण तथा रोकथामबारे छलफल गर्न भिडियो कन्फरेन्स आयोजना गरिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्