सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एचआइभी निको भएका दोस्रो व्यक्ति क्यास्टिलेजो

लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन् । एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो ।

उनलाई एचआईभीविरुद्धको औषधिले नभई उनलाई लागेको एक प्रकारको क्यान्सरबाट प्राप्त गरिएको स्टेम सेल कोष प्रयोग गरी गरिएको उपचारद्वारा निको तुल्याइएको द ल्यान्सेट एचआईभी जर्नलमा उल्लेख गरिएको छ ।

Adyam Castilogy

त्यस्ता कोषमा एक प्रकारको असाधारण आनुवंशिक गुण हुन्छ जसले क्यास्टिलेजो जस्ता मानिसलाई एचआईभीविरुद्ध सुरक्षा प्रदान गर्दछ । त्यसअघि सन् २०११ मा टिमोथी ब्राउन एचआईभी सङ्क्रमण मुक्त हुने पहिलो व्यक्ति बनेका थिए । उनलाई साढे तीन वर्षअघि त्यस्तै उपचार सुरु गरिएको थियो ।

यो उपचार कस्तो हुन्छ?
स्टेम सेल भनिनेको कोषको प्रत्यारोपण थालिएपछि शरीरभित्र एचआईभी भाइरसलाई त्यही व्यक्तिकै इम्युन सेल भनिने कोषलाई नयाँ प्रत्यारोपित कोषहरूले प्रतिस्थापन गर्न थाल्छन् । त्यसले एचआईभी सङ्क्रमण प्रतिरोध गर्न थाल्छ ।

अहिले लन्डनका ४० वर्षीय क्यास्टिलेजोको रगत, वीर्य वा तन्तुमा एचआईभी नभेटिएको उनका चिकित्सकहरूले बताएका छन् । क्यास्टिलेजोले अहिले आफ्नो परिचय पनि सार्वजनिक गरेका छन् ।

HivVirus

केम्ब्रिज विश्वविद्यालयका प्रमुख प्राध्यापक रवीन्द्रकुमार गुप्ताले बीबीसी न्यूजसँग भनेका छन्–‘यसले निश्चितरूपमा एचआईभी निको तुल्याइएको घटनाको प्रतिनिधित्व गर्दछ । साढे दुई वर्षदेखि उनलाई एन्टी रेट्रोभाइरल दिनु परेको छैन ।’

‘सफल स्टेम सेल प्रत्यारोपणमार्फत एचआईभी निको पार्न सम्भव हुन्छ जुन काम नौ वर्षअघि ‘बर्लिनका बिरामी’मा सफलतापूर्वक गरिएको थियो । त्यसलाई फेरि फेरि प्रयोग गर्न सकिन्छ ।’

त्यो उपचार पद्धतिमार्फत क्यास्टिलोजोको शरीरभित्रका ९९ प्रतिशत एचआईभी सङ्क्रमित कोषहरू सङ्क्रमणमुक्त भएका थिए ।

एन्टी रेट्रोभाइरल थेरापी अझै प्रभावकारी
तर यो उपचार विश्वभरिका दशौँ लाख एचआईभी सङ्क्रमितहरूमा सम्भव हुँदैन । पछिल्लो थेरापी एचआईभी सङ्क्रमितमा नभई क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग गरिएको थियो ।

एचआईभी सङ्क्रमितहरूका लागि अझै पनि एन्टी रेट्रोभाइरल थेरापी प्रभावकारी साबित भइरहेको छ । त्यो उपचारमार्फत एचआईभी शरीरमा रहेका मानिसहरू लामो समयसम्म स्वस्थ भएर बाँच्न सकिरहेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्