सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

कोरोनाबाट बच्न दाङ छिरेका २६ भारतिय फिर्ता

बाँकेको नेपालगञ्ज हुँदै दाङ प्रवेश गर्न लागेका २६ जना भारतीय नागरिकलाई उतै फिर्ता पठाइएको छ । नेपालगञ्जबाट गाडी रिजर्भ गरेर आएका उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँबाट फिर्ता पठाइएको हो ।

दमारगाउँमा स्थापना गरिएको हेल्थडेस्कमा सोधपुछ गर्दा उनीहरुले आफूहरु इँटा भट्टामा काम गर्ने मजदुर भएको र भारतको नानपाराबाट आएको बताएका थिए । ‘उनीहरु सबै भारतीय नागरिक रहेछन्, राम्रोसँग नेपाली बोल्न पनि जान्दा रहेनछन्,’ हेल्थ डेस्कमा खटिएका जनस्वास्थ्य निरीक्षक विमल केसीले भने, ‘कोरोना भाइरस संक्रमित भेटिएको भारतबाट आएकाले उनीहरुलाई हामीले फिर्ता पठाइदियौं ।’

उनीहरु नेपालगञ्ज हुँद दाङ प्रवेश गरेको अनुमान गरिएको छ । तर, नेपालगञ्जको जनस्वास्थ्य टोलीलाई आफूहरुले नभेटेको उनीहरुले बताएका थिए । जनस्वास्थ्य अधिकृत केसीले भने, ‘हामीले नेपालगञ्जको स्वास्थ्य टोलीलाई पनि सोध्यौं, तर उनीहरु कहाँबाट छिरे भन्ने थाहा हुन सकेन । सायद उनीहरु अन्य कुनै साना नाकाबाट छिरेको हुनुपर्छ ।’

Indian in Dang

दमारगाउँ तुलसीपुर बजार प्रवेश गर्ने नाका हो । त्यहाँसम्म बाँकेको नेपालगञ्ज, इमिलिया हुँदै आइपुगिन्छ । पूर्वपश्चिम राजमार्ग छाडेर इमिलिया हुँदै अघि बढेपछि पहाडी बाटोलाई पार गरेपछि दमारगाउँ आइपुगिन्छ र दमारगाउँ पनि पार गरेपछि तुलसीपुर बजार सुरु हुन्छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर प्रवेश गर्ने दमारगाउँ र टरिगाउँ विमानस्थल गरी दुई स्थानमा हेल्थडेस्क स्थापना गरेको छ ।

तुलसीपुर कोरोना हेल्थ डेस्कका अनुसार शनिबारमात्रै दमारगाउँमा ५ सय १७ महिला र ७६७ पुरुष गरी जम्मा १ हजार २ सय ८४ जनाको स्वास्थ्य जाँच गरिएको छ । यस्तै टरिगाउँ विमानस्थलमा १८ महिला र २० जना पुरुषको स्वास्थ्य जाँच गरिएको छ । तर, कसैमा पनि ज्वरो नदेखिएको केसीले जानकारी दिए ।

यसैबीच भारतबाट आएका घोराहीका एक जना १७ वर्षीय युवकलाई कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।

उनी निजी अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार प्रतिष्ठानमा रेफर गरिएका विरामी हुन् । पारिवारिक स्रोतका अनुसार उनलाई १८ दिनदेखि ज्वरो आइरहेको थियो ।

प्रतिष्ठानका एक डाक्टरका अनुसार ती किशोरमा कोरोनाको आशंका गर्न मिल्ने उच्च ज्वरो, कफ, डाइरिया लगायतका समस्या छ । उनको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंमा पठाउने तयारी भइरहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS